Skip to main content

केभिन पिटरसन आईसीसीको ‘हल अफ फेम’मा समावेश

इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान केभिन पिटरसनलाई विश्व क्रिकेटमा पुर्‍याएको योगदानको सम्मान स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश गरिएको छ। पिटरसनले सन् २०१० को पुरुष टी–२० विश्वकपमा उत्कृष्ट खेलाडीको उपाधि हात पारेका थिए र इंग्ल्यान्डको ऐतिहासिक सफलतामा ठूलो योगदान गरेका थिए।

२७ असार, काठमाडौं। आईसीसीले भारतका सौरभ गाङ्गुली र महिला क्रिकेटर अन्जुम चोपरा पनि ‘हल अफ फेम’मा समावेश गरेको जनाएको छ। पिटरसनले इंग्ल्यान्डका थुप्रै ऐतिहासिक सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २००५ को एसेज सिरिजमा इंग्ल्यान्डलाई उपाधि दिलाउन पिटरसनको भूमिका विशेष रहेको थियो।

सन् २०१० मा इंग्ल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि जित्दा पिटरसन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए। पिटरसनले भने, ‘आईसीसीको हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मान हो। क्रिकेटका धेरै महान् खेलाडीहरूसँग मेरो नाम देखिनु विशेष अनुभव हो।’