Skip to main content

ओमान नजिक जहाजमाथि आक्रमण, १० भारतीय नागरिकको सफल उद्धार

ओमानको नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको सफल उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले उक्त जहाजमाथि गरिएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै जहाज अब सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्तरराष्ट्रिय जलमार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ।

‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तटीय क्षेत्रमा आक्रमण भएको थियो। घटनापश्चात उद्धार तथा खोज अभियान जारी रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार भई सकेको छ भने एक जनाको अवस्था अझै अज्ञात छ।

अमेरिकी सेन्ट्रल कमाण्डले उक्त जहाजमाथि आक्रमणका लागि इरान जिम्मेवार भएको उल्लेख गर्दै जहाजमा आगलागी र इन्जिन कक्षमा पुगेको ठूलो क्षतिको कारण जहाज सञ्चालन गर्न असम्भव रहेको जनाएको छ। बेलायती समुद्री सुरक्षा निकाय ‘यूकेएमटीओ’का अनुसार चालक दलका सदस्यहरूले जहाज छोडेर लाइफबोटमार्फत आश्रय लिएका थिए। यो घटना ओमानको तटदेखि करिब १७ किलोमिटर पूर्वतर्फ भएको बताइएको छ।

यो घटना अमेरिका द्वारा गरिएको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तर स्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेपछि र खाडी क्षेत्रका विभिन्न स्थानहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरू भइरहेका बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गर्दै यस्ता घटनाहरू तत्काल रोक्न आग्रह गरेको छ। मन्त्रालयले अन्तरराष्ट्रिय कानुनअनुसार क्षेत्रका जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनःस्थापित हुनुपर्नेमा जोड दिएको छ। इरान र अमेरिकाबीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने प्रयासमा गरिएको अन्तरिम सम्झौतालाई थप संकटमा पुर्‍याएको छ।