एकातिर विश्व फुटबलका सुपरस्टारहरुको चमकतिलो प्रदर्शन हुनेछ भने अर्कोतिर दशकौं पुराना प्रतिस्पर्धा, बदला, कीर्तिमान र गौरवको द्वन्द्व पनि सँगसँगै चल्नेछ। फिफा विश्वकप २०२६ को उपाधि यात्रा अब फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाको टिमसम्म सीमित भएको छ। पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन्। विश्वकपका सेमिफाइनलहरुमा लियोनल मेसी, किलियन एम्बाप्पे, जुड बेलिङहम र लामिन यमालजस्ता विश्व फुटबलका चर्चित खेलाडीहरुको महाअभियान देखिनेछ। २९ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अब निर्णायक चरणमा पुगेको छ। ४८ टोलीबाट सुरु भएको उपाधि यात्रा अन्तत चार टोलीमा सीमित भएको छ। फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना अब विश्व फुटबलको सर्वोच्च उपाधिबाट केवल दुई चरण टाढा छन्। अब कुनै गल्ती सच्याउने अवसर नहुनेछ। एक हारले विश्वकपको सपना अन्त्य गर्नेछ भने जितले टोलीलाई फाइनलको ढोका खोलिदिनेछ।
फ्रान्स र स्पेनको पहिलो सेमिफाइनल भिडन्तलाई धेरैले ‘फाइनलभन्दा पनि ठूलो फाइनल’ को रूपमा व्याख्या गरेका छन्। किलियन एम्बाप्पे फेरि फ्रान्सको प्रमुख हतियार बनेका छन्। मोरक्कोविरुद्ध दुई–शून्यको जितसँगै उनले प्रतियोगितामा आठ गोल पुर्याएका छन्। उनी अर्जेन्टिनाका लियोनल मेस्सीसँग गोल्डेन बुट पुरस्कारका प्रतिस्पर्धी रहेका छन्। तर फ्रान्सको बल मात्र एम्बाप्पेमै सीमित छैन। ओस्मान डेम्बेेल्लेले पाँच गोल गरिसकेका छन् भने माइकल ओलिसे पाँच असिस्टसहित प्रतियोगिताको उत्कृष्ट अवसर सिर्जना गर्ने खेलाडी बनेका छन्।
दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुनेछ। सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाले इंग्ल्यान्डलाई प्रतियोगिताबाट बाहिर गराएको त्यो चोट अझै कालजयी छ। ४० वर्षपछि यी दुई टोली फेरि विश्वकपको नकआउट चरणमा आमनेसामने हुँदैछन्। यसपटक अर्जेन्टिनासँग लियोनल मेसी छन्, जसले प्रतियोगितामा आठ गोल गर्दै विश्वकप इतिहासमै सबैभन्दा धेरै गोल गर्ने कलाकारको कीर्तिमान कायम गरिसकेका छन्। इंग्ल्यान्डसँग पनि आफ्नो सुपरस्टार छ। जुड बेलिङहमले लगातार दुई नकआउट खेलमा दुई–दुई गोल गरेका छन्।
अब केवल तीन खेलपछि विश्वकपको नयाँ च्याम्पियन निर्धारण हुनेछ। इतिहास, प्रतिशोध, कीर्तिमान, सुपरस्टार र विश्व फुटबलको सर्वोच्च उपाधि – यी सबैको फैसला विश्वकप सेमिफाइनलले गर्नेछ।






