Skip to main content

पर्यटनबाट आउने आम्दानीमा सामान्य गिरावट, सेवा खाता घाटामा

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड पुगेको छ भने शिक्षातर्फको खर्च १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ रहेको छ। भ्रमण आयको तुलनामा व्यय बढी हुँदा मुलुकको खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँ घाटामा रहेको बैंकले उल्लेख गरेको छ।

२९ असार, काठमाडौं। नेपालमा पर्यटकले गर्ने खर्च सामान्य रूपमा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन–जेठ) भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ। गत आव सोही अवधिमा भ्रमण आय ८२ अर्ब ३३ करोड रहेको थियो। सोही अवधिमा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण व्यय २ खर्ब ३ अर्ब रहेको थियो।

शिक्षातर्फको खर्च ११ महिनामा १ खर्ब ३२ अर्ब २३ करोड रहेको छ। गत आव शिक्षाका लागि ११ महिनामा १ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ विदेशिएको थियो। भ्रमण आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ। गत आर्थिक वर्षमा यस्तो घाटा ८२ अर्ब ७८ करोड थियो।