हुथी विद्रोही समूहले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको दाबी
३० असार, काठमाडौं । यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेको छ। हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थलमाथिको आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ। हुथी विद्रोहीहरूले साउदी अरबबाट यमन राजधानी सना स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हवाई आक्रमणको जवाफ स्वरूप प्रतिआक्रमण गरिएको बताएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हुथी विद्रोहीका प्रवक्ता याह्या सरेयाले बयान जारी गरी सबै एयरलाइन्सलाई साउदी हवाई क्षेत्रभन्दा टाढा रहन चेतावनी दिएका छन्। एयरलाइन्सहरूले चेतावनीलाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ। राजधानी सना स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म कडाइका साथ कारबाही जारी रहने र बुझाइसकेपछि मात्रै पुनः सञ्चालनमा ल्याइने हुथीहरूले जनाएको छ। यसअघि, साउदी अरब समर्थित यमनी सरकारले रक्षा मन्त्रालयमार्फत इरानी विमान अवतरण रोक्न सना अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा लक्षित आक्रमण गरेको बताइएको थियो।