Skip to main content

नेपालले लगातार तेस्रो जितसहित समूह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गर्‍यो

नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जितसहित समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३० रन बनाउन सफल भयो। कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ९० रन बनाएर टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए। ३० असार, काठमाडौं।

एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित हात पारी समूह ‘डी’ को विजेता बनेर क्वाटरफाइनलमा प्रगति गरेको छ। समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङलाई १८१ रनले पराजित गर्‍यो। नेपालले दिएको २१२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर मात्र ३० रन बनायो। हङकङका बाट वोङ विङले सर्वाधिक १३ रन बनाए जबकि बाँकी खेलाडीले दोहोरो अंकमा समेत पुग्न सकेनन्।

नेपालका लागि कप्तान सोनी पाख्रिनले ४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिए। मनिषा उपाध्यायले २ विकेट लिए भने कृश्मा गुरुङ र स्न्हा महराले एक-एक विकेट हात पारे। पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर नेपालले २११ रन बनायो। कप्तान सोनी पाख्रिनले उत्कृष्ट ९० रन बनाए। उनको ६० बलमा १३ चौका र १ छक्का प्रहारले टोलीलाई बलियो योगफल दिलाएको थियो। साथै, सावित्री धामीले ५२ र अलिशा यादवले अविजित २३ रन बनाए। यो नेपालले यू-१९ स्तरीय क्रिकेटमा बनाएको दोस्रो ठूलो योगफल हो र यस प्रतियोगितामा सर्वाधिक स्कोर पनि हो। यसअघि २०२५ महिला यू-१९ टी-२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रन बनाएको थियो। हङकङका निमरा अरबले २ विकेट लिए भने वोङ विङ र आरुज फातिमाले एक-एक विकेट लिए। नेपालले यसअघिका खेलमा कतारलाई १०५ रनले र सिंगापुरलाई १५१ रनले हराएको थियो।