फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच हुने भएको छ। फिफाले उक्त महत्वपूर्ण खेलका लागि एल साल्भाडोरका इभान बार्टोनलाई मुख्य रेफ्री तोकेको छ। अघिल्ला चरणका खेलमा भएका विवादास्पद निर्णयपछि फिफाले रेफ्री छनोटलाई विशेष प्राथमिकता दिएको छ।
फिफा विश्वकप २०२६ मा खेलाडीहरू जत्तिकै रेफ्रीहरू पनि चर्चामा छन्। प्रतियोगिताभरि केही विवादास्पद निर्णयपछि रेफ्रीमाथि पक्षपात गरेको आरोप लागिरहेको छ। त्यसैले विश्वकपका अन्तिम तीन महत्वपूर्ण खेलमा फिफाले रेफ्री छनोट कसरी गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
फ्रान्स र स्पेनबीचको सेमिफाइनलअघि फिफाले उक्त खेलका लागि आधिकारिक रेफ्री टोली सार्वजनिक गरेको छ। यो छनोटले अघिल्ला विवाद र आरोपलाई फिफाले गम्भीर रूपमा लिएको संकेत गरेको छ। पहिलो सेमिफाइनलका लागि एल साल्भाडोरका २, निकारागुवाका १ र स्वीडेनका २ रेफ्री चयन भएका छन्। एल साल्भाडोरका इभान बार्टोन पहिलो सेमिफाइनलको मुख्य रेफ्री रहनेछन्।
डेभिड मोरान पहिलो सहायक रेफ्री र एन्टोनियो पुपिरो दोस्रो सहायक रेफ्री रहनेछन्। फ्रान्स–स्पेन खेलका लागि ग्लेन न्येबर्ग चौथो अधिकारी नियुक्त भएका छन्। स्वीडेनका महबोद बेगी रिजर्भ सहायक रेफ्रीको भूमिकामा रहनेछन्। जारी विश्वकपमा रेफ्रीको निर्णयलाई लिएर विभिन्न आरोप लगिइरहेका छन्।






