समाचार सारांश फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध आफ्नो परम्परागत जर्सीको साटो गाढा निलो रङको अवे जर्सी लगाएर खेल्ने भएको छ। सन् १९८६ र १९९८ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको ऐतिहासिक जितमा प्रयोग गरिएको उक्त जर्सीलाई अर्जेन्टिनाले संयोग र अन्धविश्वाससँग जोडेर हेरेको छ। बुधबार अमेरिकाको एटलान्टामा हुने खेलमा इंग्ल्यान्ड भने आफ्नो सेतो घरेलु जर्सीमै मैदान उत्रने तय भएको छ। ३० असार, काठमाडौं।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सी होइन, गाढा निलो रङको अवे जर्सी लगाएर खेल्ने भएको छ। बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्ड भने सेतो घरेलु जर्सीमै मैदान उत्रनेछ। यस विश्वकपमा अर्जेन्टिनाले गाढा निलो जर्सी दोस्रोपटक प्रयोग गर्न लागेको हो। यसअघि समूह चरणमा जोर्डनविरुद्ध मात्र अर्जेन्टिनाले गाढा निलो जर्सी लगाएको थियो। अन्य सबै खेलमा निलो-सेतो धर्के डिजाइनको जर्सी प्रयोग भएको थियो।
अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार यो निर्णय केवल जर्सी नियमका कारण मात्र नभई अन्धविश्वाससँग पनि जोडिएको छ। किनभने यही गाढा निलो जर्सीमा अर्जेन्टिनाले विश्वकपमा इंग्ल्यान्डविरुद्ध दुई ऐतिहासिक सफलता हात पारेको थियो। सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र अविस्मरणीय एकल गोलको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो। त्यसबेला पनि अर्जेन्टिना गाढा निलो जर्सीमै खेलेको थियो। त्यसपछि सन् १९९८ को विश्वकप अन्तिम १६ मा पनि अर्जेन्टिनाले यही रङको जर्सी लगाएर पेनाल्टी सुटआउटमार्फत इंग्ल्यान्डलाई पराजित गरेको थियो।
यद्यपी सन् २००२ को विश्वकपमा भने दुवै टोलीको जर्सी उल्टिएको थियो। त्यस खेलमा इंग्ल्यान्डले रातो जर्सी लगाएको थियो भने अर्जेन्टिना आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सीमा उत्रिएको थियो। उक्त खेलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो। फिफाले सामान्यतया दुवै टोलीलाई पहिलो रोजाइको जर्सीमै खेलाउने प्रयास गर्छ। तर रङ जुध्ने सम्भावना भए वा दृष्टिदोष भएका समर्थकलाई खेल हेर्न सहज बनाउन आवश्यक ठानेमा फरक रङका जर्सी प्रयोग गराइन्छ। इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेलाई २–१ ले तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए।






