Skip to main content

केनले इंग्ल्यान्ड टिमको एकता पुष्टि गरे

फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनले टोली पूर्णरूपमा एकताबद्ध रहेको बताएका छन्। नर्वे विरुद्धको क्वार्टरफाइनलमा २–१ को जितपछि टिमभित्र मतभेद भएको चर्चा गरिंदै गर्दा केनले यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका छन्। ३० असार, काठमाडौं।

इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो। खेलपछि प्रशिक्षक थोमस टुचेलले आफ्नो टोली ‘भाग्यमानी’ रहेको र प्रदर्शनबाट आफू सन्तुष्ट नरहेको बताएका थिए। यस विषयमा सोधिएको प्रश्नमा जुड बेलिङहमले ‘जे भए पनि भयो, मैदानमा खेल्न निकै कठिन थियो’ भनी प्रतिक्रिया दिएका थिए।

त्यस प्रतिक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यममा टिमभित्र असन्तुष्टि भएको चर्चा चलेपछि कप्तान केनले त्यस खण्डन गरेका छन्। उनले भने, ‘यस्तो कठिन खेल सकिएको पाँच मिनेटभित्र यस्तो प्रश्न सोधिएको थियो। त्यतिबेला प्रशिक्षकले के भनेका थिए भन्ने जुडलाई पनि थाहा थिएन। यस्ता प्रतियोगितामा इंग्ल्यान्डबारे विभाजनको कथा बनाउन सजिलो हुन्छ। तर वास्तविकता बिल्कुलै उल्टो छ। हामी यहाँसम्म आइपुगेका छौं भने त्यो हाम्रो एकताको कारण हो।’

केनले टुचेलको शैली पूर्व प्रशिक्षक सर ग्यारेथ साउथगेटभन्दा फरक भए पनि टिमले त्यसलाई सकारात्मक रूपमा लिएको बताए। उनले भने, ‘उहाँ मनमा लागेको कुरा खुलेर भन्नुहुन्छ। कुनै तयारी गरेर बोलेको जस्तो हुँदैन। त्यसैले खेलाडीहरूले उहाँमाथि विश्वास गर्छन्। उहाँ संसारकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुनुहुन्छ।’