Skip to main content

२० औं एसियाडको तयारीका लागि नेपाली कुस्ती टोली भारतमा विशेष प्रशिक्षणमा

नेपाली कुस्ती टोली २० औं एसियाली खेलकुदको तयारीका लागि बिहीबार विशेष प्रशिक्षण शिविरको लागि भारत प्रस्थान गर्दैछ। नयाँ दिल्ली र उत्तर प्रदेशमा हुने ४५ दिने प्रशिक्षणमा छ खेलाडी, एक प्रशिक्षक र दुई व्यवस्थापक गरी नौ सदस्यीय टोली सहभागी हुनेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडमा उत्कृष्ट प्रदर्शन गर्न खेलाडी र प्रशिक्षकहरूलाई पूर्ण रुपमा प्रशिक्षणमा केन्द्रित हुन आग्रह गर्नुभयो। ३० असार, काठमाडौं।

जापानमा आयोजना हुन लागेको २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि नेपाली कुस्ती टोली बिहीबार भारत प्रस्थान गर्न लागिरहेको छ। पुरुष खेलाडीहरूमा सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल (८६ केजी) र राज यादव (१२५ केजी) रहेका छन्। महिलातर्फ सुशिला चन्द (६२ केजी) र शिवाङ्गी दुवे (५७ केजी) छन्। उक्त प्रशिक्षण शिविर भारतको नयाँ दिल्लीमा जुलाई १७ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ।

टीमका प्रशिक्षक राजेन्द्र चन्द, व्यवस्थापक खगेन्द्रबहादुर बस्नेत र सहायक व्यवस्थापक मुम्ताज अली रहेका छन्। करिब ४५ दिन भारतमा रहने अवधिभर खेलाडीहरूले नयाँ दिल्ली, उत्तर प्रदेशको नन्दनीनगर लगायत विभिन्न एकेडेमीहरूमा प्रशिक्षण लिनेछन्, नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै कुस्ती टोलीलाई विदाइ गरेको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले टोलीलाई शुभकामना दिँदै विदाइ गरेका थिए।

सो अवसरमा एनओसीका सचिव भीम गुरुङ र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी समेत उपस्थित थिए। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले आगामी एसियाडमा उत्कृष्ट प्रदर्शनका लागि यो प्रशिक्षण शिविर अहम हुने भएकाले खेलाडी तथा प्रशिक्षकलाई प्रशिक्षणमा पूर्णरुपेण केन्द्रीत हुन आवश्यक रहेको बताए। २० औं एसियाली खेलकुद जापानको आइचीनागोयामा असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुने छ। अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै सिधा जापान जाने छ।