Skip to main content

विपद्का बेला हेलीप्याड, ड्रोन र राफ्टिङ सेवा प्रदान गर्न निजी क्षेत्र र प्राधिकरण बीच सहमति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउन तीन संस्थासँग सहमति गरेको छ। सहमति अनुसार वायुसेवा संचालक संघले उपत्यकाभित्र निःशुल्क र बाहिर न्यूनतम खर्चमा हेलिकप्टर सेवा दिने तथा ड्रोन र राफ्ट सेवा पूर्णतया निःशुल्क उपलब्ध गराउने छ। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद् व्यवस्थापनमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक भएको उल्लेख गर्दै निजी क्षेत्रको सेवाभावप्रति आभार व्यक्त गर्नुभयो। ३० असार, काठमाडौं।

विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलीप्याड, ड्रोन र राफ्टिङ सेवाहरू उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) बीच सहमति भएको छ। प्राधिकरणले आयोजना गरेको कार्यक्रममा ती तीन संस्था र प्राधिकरणबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो। वायुसेवा संचालक संघसँगको सहमति अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परे निःशुल्क सेवा उपलब्ध गराइनेछ भने उपत्यका बाहिर भने न्यूनतम सञ्चालन खर्चमा सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

नेपाल ड्रोन संघसँग भएको सहमतिअनुसार विपद्का समयमा ड्रोन प्रयोग आवश्यक परेमा प्राधिकरणलाई निःशुल्क ड्रोन र सम्बन्धित उपकरणहरू (पाइलटसहित) उपलब्ध गराउनुपर्नेछ। यस कार्यमा संलग्न सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्ने छ। त्यसैगरी नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)सँग भएको सहमतिअनुसार विपद्का समयमा राफ्ट प्रयोग गर्न आवश्यक परे प्राधिकरणले माग गरेमा नारा निःशुल्क राफ्ट र सम्बन्धित उपकरणहरू (जनशक्तिसहित) उपलब्ध गराउनेछ। राफ्ट र जनशक्तिको प्रयोग बाढी, डुबान र नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानी कार्यमा गरिने सहमति छ। यो सहमति एक वर्षसम्म कायम रहने र आपसी सम्झौतामा पुनः नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताए। सबैको सहकार्यबाटै विपद्मा विजयी हुन सकिने भन्दै उनले निजी क्षेत्रको सेवाभावप्रति आभार व्यक्त गर्नुभयो। साथै, वायुसेवा संचालक संघ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन, र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जीवन र सम्पत्तिको संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यस अवसरमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणिन्द्र प्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरू पनि उपस्थित थिए।