Skip to main content

भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, लक्जरी कार र ह्विस्कीको मूल्य घट्ने

भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू भएको छ, जसले २०३० सम्ममा द्विपक्षीय व्यापारलाई १२० अर्ब अमेरिकी डलरसम्म पुर्याउने अनुमान गरिएको छ। सम्झौताअनुसार भारतका ९९ प्रतिशत वस्तु बेलायतको बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् र भारतमा लक्जरी कार र मदिराको मूल्य घट्ने अपेक्षा गरिएको छ। भारतीय उद्योगहरुले कपडा, औषधि र कृषि उत्पादनमा नयाँ बजार पाउनुका साथै बेलायती कम्पनीहरूले हरित ऊर्जा र सूचना प्रविधिमा लगानी बढाउने संकेत गरेका छन्। ३१ असार, काठमाडौं।

सम्झौता लागू भएसँगै भारतका ९९% वस्तु बेलायती बजारमा भन्सार मुक्त निर्यात हुनेछन् भने बेलायतबाट आउने अधिकांश वस्तु भारतमा औसत ३% भन्सार दरमा आयात हुनेछन्। यसले भारतमा स्कच व्हिस्की, जिन, जगुआर ल्यान्ड रोभर र रोल्स-रॉयसजस्ता लक्जरी कार, ब्रान्डेड कपडा, कस्मेटिक्स र केही खाद्य पदार्थको मूल्य घटाउने अपेक्षा गरिएको छ। स्कच व्हिस्कीमा लाग्ने भन्सार १५०% बाट घटेर ७५% मा झरेको छ र आगामी १० वर्षभित्र यसलाई ४०% मा झार्ने योजना छ।

द्विपक्षीय व्यापार २०३० सम्ममा दोब्बर भई १२० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। भारतका वाणिज्य मन्त्री पीयूष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले २४ जुलाई २०२५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किर स्टार्मरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए। बेलायतकी भारतस्थित उच्चायुक्त लिन्डी क्यामरुनले सामाजिक सञ्जाल एक्समा यो ‘आधुनिक बेलायत-भारत साझेदारीको ऐतिहासिक क्षण’ बताएकी छन्।

भारतीय उद्योगलाई ठूलो फाइदा सम्झौताबाट भारतीय कपडा, होम टेक्सटाइल, रत्न-आभूषण, छालाजन्य सामान, इन्जिनियरिङ सामग्री, अटो पार्ट्स, औषधि र कृषि उत्पादनले ठूलो लाभ पाउनेछ। बेलायतले भारतीय कपडा र होम टेक्सटाइलमा लगाउने ८ देखि १२ प्रतिशतसम्मको भन्सार हटाएको छ जसले भारतीय उत्पादनलाई बंगलादेश र भियतनामभन्दा प्रतिस्पर्धात्मक बनाउनेछ। भारतीय जेनेरिक औषधिको बेलायतमा दर्ता प्रक्रिया सहज भएकोले औषधि निर्यातमा वृद्धि हुने अपेक्षा गरिएको छ। बासमती चामल, चिया र मसला निर्यातमा पनि उल्लेख्य वृद्धि हुने अनुमान छ।