केनदेखि मेसीसम्म: इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलमा प्रभाव पार्ने खेलाडीहरू
फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबल सनसनी इङ्ल्यान्ड र पूर्व विजेता अर्जेन्टिनाबीचको भिडन्त हुँदैछ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन ६० वर्षपछि आफ्नो टोलीलाई विश्वकप जिताउने सपना देखिरहेका छन्। मिडफिल्डर र रक्षाका खेलाडीहरू जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजको प्रदर्शनले पनि यो खेलको नतिजामा निर्णायक भूमिका खेल्न सक्छ।
३१ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबलको जननी इङ्ल्यान्ड र पूर्व विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। चार दशकभन्दा बढी लामो विश्वकप प्रतिद्वन्द्विताको अर्को अध्याय सुरु हुँदैछ जसमा सबैको नजर केही विशेष खेलाडीहरूमा केन्द्रित रहनेछ। एकतर्फ विश्वकप विजेता कप्तान लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो उपाधि तर्फ लैजाने प्रयासमा छन् भने अर्कोतर्फ इङ्ल्यान्डका कप्तान ह्यारी केन ६० वर्षपछि टोलीलाई विश्वकप जिताउने सपना लिएर मैदानमा छन्। उनीहरुसँगै जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजजस्ता खेलाडीहरूको प्रदर्शनले पनि यो बहुप्रतीक्षित सेमिफाइनलको परिणाम निर्धारण गर्न सक्छ।
इङ्ल्यान्डका कप्तान ह्यारी केन फेरि एक पटक टोलीको सबैभन्दा भरोसापूर्ण खेलाडी बनेका छन्। २०१८ को विश्वकपमा गोल्डेन बुट विजेता केन अहिले पनि विश्व फुटबलका उत्कृष्ट ‘नम्बर ९’ खेलाडीका रूपमा चिनिन्छन्। क्लब फुटबलमा टोटनहम हट्सपरका सर्वाधिक गोलकर्ता बनेपछि उनले जर्मन क्लब बायर्न म्युनिखमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्वस्तरको स्ट्राइकरका रूपमा स्थापित गरेका छन्। इङ्ल्यान्डका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता केनले राष्ट्रिय टोलीका लागि ८० भन्दा बढी गोल गरिसकेका छन्। विश्वकप २०२६ मा पनि उनले ६ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। गोल गर्ने मात्र नभई टोलीका लागि अवसर सिर्जना गर्ने, खेल ब्यवस्थित गर्ने र दबाबमा नेतृत्व गर्ने उनको क्षमता इङ्ल्यान्डका लागि ठूलो फाइदा हो। यो विश्वकपमा इङ्ल्यान्डको प्रदर्शन सजिलो भएन, तर कठिन समयमा टोलीलाई अघि बढाउने जिम्मा केनमाथि नै छ। अर्जेन्टिनाविरुद्ध पनि उनको अनुभव र गोल गर्ने चतुरता इङ्ल्यान्डको महत्वपूर्ण हतियार हुनेछ। यदि उनलाई अवसर मिल्यो भने त्यसलाई गोलमा परिणत गर्ने सम्भावना उच्च छ।
विश्व फुटबल इतिहासका महान् खेलाडी लियोनल मेसी अर्जेन्टिनाका लागि मात्र होइन यस विश्वकपका सबैभन्दा प्रभावशाली खेलाडी हुन्। २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनले लगभग सबै ठूला उपाधि जितिसकेका छन्। आठ पटकका बालोन डी’ओर विजेता मेसीले कोपा अमेरिका, फिनालिसिमा, च्याम्पियन्स लिगदेखि विश्वकपसम्मका विभिन्न शीर्ष उपाधि आफ्नो नाममा राखेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा ११० भन्दा बढी गोल गरेका मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। विश्वकप २०२६ मा पनि आठ गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एमबाप्पेसँग संयुक्त शीर्ष स्थानमा छन्। गोलसँगै पासिङ, खेलको गति नियन्त्रण गर्ने क्षमता र साँघुरो ठाउँबाट पनि अवसर सिर्जना गर्ने कला अझै प्रभावशाली छ। ३९ वर्षे उमेरमा पनि मेसी अर्जेन्टिनाको आक्रमणको मुख्य केन्द्रबिन्दु बनेका छन्। कप्तानको रूपमा उनको अनुभव र दबाबमा खेल जिताउने क्षमता अर्जेन्टिनाको सबभन्दा ठूलो शक्ति हो। इङ्ल्यान्डविरुद्धको सेमिफाइनल उनको करियरकै अर्को ऐतिहासिक क्षण बन्ने सम्भावना उच्च छ।
यी दुई मुख्य खेलाडीहरुसँगै अन्य खेलाडीहरूको प्रदर्शन पनि निर्णायक बन्न सक्छ। इङ्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङहम विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। बोरुसिया डर्टमन्डबाट उदाएका उनले अहिले रियल मड्रिडका प्रमुख खेलाडीको भूमिका निभाइरहेका छन्। विश्वकप २०२६ मा उनले ६ गोल गरिसकेका छन्। नकआउट चरणका पछिल्ला दुई खेलमा लगातार दुई-२ गोल गर्दै उनले इङ्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। मिडफिल्डबाट आक्रमणमा जोडिने, गोल गर्ने र खेल नियन्त्रण गर्ने उनको क्षमता अर्जेन्टिनाका लागि ठूलो चुनौती हुनसक्छ।
इङ्ल्यान्डको दायाँ विंगबाट आक्रमणको गति दिने खेलाडी बुकायो साका हुन्। आर्सनलका स्टार साकाले गति, ड्रिब्लिङ र सटिक क्रसबाट विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राखेका छन्। यस विश्वकपमा उनले गोल नगरे पनि ३ असिस्ट दिएका छन्। केन र बेलिङहमलाई अवसर सिर्जना गर्ने जिम्मेवारी प्रायः उनको काँधमा पर्ने भएकाले अर्जेन्टिनाले उनलाई रोक्नु महत्वपूर्ण छ। अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व क्रिस्टियन रोमेरोले गर्छन्। टोटनहमका सेन्टर-ब्याक रोमेरो आक्रामक र दृढ रक्षकका रूपमा परिचित छन्। ह्यारी केनलाई रोक्ने जिम्मा मुख्य रूपमा उनकै हुनेछ। विश्वकप २०२२ का उत्कृष्ट युवा खेलाडी एन्जो फर्नान्डेज वर्तमानमा अर्जेन्टिनाको मिडफिल्डको मेरुदण्ड बनेका छन्। चेल्सीका मिडफिल्डर एन्जो बल नियन्त्रण, लामो पास र खेलको लय निर्धारणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। मेसीसँग मिलेर खेल निर्माण गर्ने र विरोधी आक्रमण रोक्दै टोलीलाई सन्तुलन दिने काम उनी गर्छन्। इङ्ल्यान्डका बेलिङहम र डेक्लान राइसविरुद्धको मिडफिल्ड भिडन्तमा उनको प्रदर्शन अर्जेन्टिनाको सफलताका लागि निर्णायक हुनसक्छ।






