Skip to main content

नेपाललाई दोस्रो अभ्यास एकदिवसीय खेलमा जर्सीले २८३ रनको लक्ष्य दियो

आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपाली टोलीले जर्सीविरुद्धको दोस्रो अभ्यास खेलमा जितका लागि २८३ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाएको छ, जसमा प्याट्रिक गजले सर्वाधिक ९५ रन जोडेका छन्। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका छन् भने ललित राजवंशीले एक विकेट हात पारेका छन्।

जर्सीका लागि ह्‍यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनवूडले ३२ र जोन्टी जेनरले २७ रन बनाए। नेपालले पहिलो खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको थियो। नेपालले यसपछि नेदरल्यान्ड्समा गएर नामिबिया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेल्नेछ, जुन जुलाई २१ देखि सुरु हुनेछ।