Skip to main content

दिल्ली उच्च अदालतले सोनम वाङचुकको स्वास्थ्य दैनिक जाँच गर्न निर्देशन दिएको

दिल्ली उच्च अदालतले जलवायु अभियन्ता सोनम वाङचुकको स्वास्थ्य अवस्थाको दैनिक जाँच गर्न र आवश्यक उपचार गराउन केन्द्र सरकारलाई निर्देशन दिएको छ। मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र न्यायधीश तेजस करियाको इजलासले सबै नागरिकको जीवन मूल्यवान् भन्दै यस्तो आदेश जारी गरेको हो। अधिवक्ता राकेश कुमार सैनीको जनहित याचिकामा सुनुवाइ गर्दै अदालतले सोलिसिटर जनरल तुषार मेहताको प्रतिबद्धताको आधारमा मुद्दा टुंगो लगाएको छ।

अदालतले बिहीबार केन्द्र सरकारलाई सोनम वाङचुकको स्वास्थ्य दैनिक रूपमा चिकित्सकहरूले जाँच गराउन निर्देशन दिएको छ। वाङचुकको बिग्रँदो स्वास्थ्यलाई दृष्टिगत गरी आवश्यक उपचार गर्न अदालतले सरकारलाई भनेको छ। सुनुवाइको क्रममा अदालतले भने, ‘हरेक नागरिकको जीवन मूल्यवान् छ र त्यसलाई जोगाउन सरकारले सबै सम्भव प्रयास गर्नुपर्छ।’

केन्द्र सरकारका तर्फबाट उपस्थित सोलिसिटर जनरल तुषार मेहताले अदालतलाई विश्वस्त पार्दै बताए कि सरकारी चिकित्सक र मेडिकल विशेषज्ञहरूले निरन्तर वाङचुकको स्वास्थ्य परीक्षण गरिरहेका छन्। चिकित्सकहरूको रिपोर्टका आधारमा आवश्यक परेमा उचित उपचार गरिने उनको प्रतिबद्धता छ। यसपछि अदालतले भने, ‘हामी सोलिसिटर जनरलको अडानको प्रशंसा गर्दछौं र वाङचुकको स्वास्थ्य हरेक दिन डाक्टरहरूले जाँच गर्न तथा आवश्यक उपचार उपलब्ध गराउन निर्देशन दिन्छौं।’

सैनीले वाङचुकलाई तत्काल अस्पताल लैजान र आवश्यक उपचार गराउन केन्द्र र दिल्ली सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए। उनले आवश्यक परेमा वाङचुकलाई जबरजस्ती खाना खुवाउन र उनको जीवन र स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका थिए। वाङचुकले जुन २८ देखि अनशन सुरु गरेका हुन्। उनको स्वास्थ्य अवस्थाबारे वरिष्ठ सामान्य चिकित्सक डाक्टर सतीश लाम्बाले १९ औं दिनको स्वास्थ्य बुलेटिन जारी गरेका छन्। उनले भनेका छन् कि अनशनको १९ औं दिनसम्म वाङचुकको तौल नौ किलोभन्दा बढी घटिसकेको छ, यद्यपि उनको शरीरमा पानीको मात्रा सामान्य छ।