Skip to main content

कांग्रेस-एमाले द्वन्द्वका कारण सातै प्रदेशमा सरकारमा फेरबदलको सम्भावना

यस साता कर्णाली प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बर्खास्त गरिएका छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यी दुई प्रदेशमा आएका घटनाक्रमले सातै प्रदेशमा प्रभाव पार्ने नेताहरूले बताएका छन्।

अघिल्लो समय सङ्घीय सरकारको नेतृत्व फेर्ने कुरा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि, केन्द्रमा केपी ओली प्रधानमन्त्री भएका थिए भने सातै प्रदेशमा दुई दलको साझा सरकार गठन भएको थियो। तर गत वर्ष भदौमा जेन जि आन्दोलनपछि ओली सरकार पतन भयो। हाल प्रदेशहरूमा रहेका दुई दलका सरकारहरू संकटमय अवस्थामा पुगेका छन्। मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री छन् भने कोशी, लुम्बिनी र कर्णालीमा एमालेका मुख्यमन्त्री छन्। नेपाली कांग्रेसका महामन्त्रीले हालको अवस्थामा प्रदेश सरकारहरू टिक्न सक्ने सम्भावना कम रहेको बताएका छन्।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रदेश सरकारहरूमा देखिएको अस्थिरतालाई एमालेको असहयोगको परिणाम भनेका छन्। उनले भने, “उदाहरणका लागि सुदूरपश्चिम प्रदेशमा बजेटलाई लिएर समस्या भयो। त्यो समाधान गर्न हामीसँग समय थियो, तर एमाले पक्ष तर्फबाट त्यसलाई ध्यान दिइएन।” उनले कांग्रेसको अगाडि दुई विकल्प रहेको बताएका छन्। “अब एमालेसँग गठबन्धन निरन्तर राख्ने सम्भावना कम हुँदै गएको छ। यदि उनीहरूले वामपन्थी गठबन्धन गरेर सरकार बनाउन खोजे भने हामी मार्ग प्रशस्त गर्न तयार छौँ।”