२७ लाख स्मार्ट लाइसेन्स छपाई पूर्ण, नयाँ लाइसेन्स २४ घण्टाभित्र छपाइने
यातायात व्यवस्था विभागमा लामो समयदेखि रोकिएको २७ लाख स्मार्ट लाइसेन्सको छपाई सफलतापूर्वक सम्पन्न भएको छ। मन्त्रालयले विभागबाट प्राप्त विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छपाई सुनिश्चित गर्ने व्यवस्था मिलाएको छ। सुरक्षा मुद्रण केन्द्रमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सामग्री स्वदेशमै उत्पादन गर्ने तयारी सरकारले अघि बढाएको छ। ३२ असार, काठमाडौं।
लामो समयदेखि छपाई हुन बाँकी रहेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाई कार्य सम्पन्न भएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार मन्त्रालय, सुरक्षा मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छपाई सम्पन्न गरिएको हो।
मन्त्रालयले यससँगै विगतदेखि रहेको लाइसेन्स छपाईको ‘ब्याकलग’ पूर्णरूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा १२ कात्तिक २०८२ मा गरिएको सम्झौताअनुसार तोकिएको समयमा १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदनहरू व्यवस्थापन गर्न ४ वैशाख २०८३ मा दोस्रो चरणको सम्झौता गरी थप १५ लाख अनुमतिपत्र छापिने काम सुरु गरिएको थियो। दोस्रो चरणको काम पनि ३२ असार २०८३ मा सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्स छपाई सकिएको मन्त्रालयले जनाएको छ।
हाल सुरक्षा मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीहरूको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्र स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ। यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ। मन्त्रालयका अनुसार सुरक्षा मुद्रण केन्द्रमार्फत अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै २७ लाख सवारी चालक अनुमतिपत्र छपाई सम्पन्न भएको हो। सञ्चार मन्त्री तिमिल्सिनाले पदभार ग्रहण गरेदेखि नै नागरिकहरूलाई सहज र समयमा सेवा पाउनुपर्ने विषयलाई प्राथमिकतामा राख्दै स्मार्ट लाइसेन्सको वर्षौँदेखिको ब्याकलग अन्त्यलाई मन्त्रालयको मुख्य कार्यसूचीमा राखेका थिए। सुरक्षा मुद्रण केन्द्रका अनुसार सवारी चालक अनुमतिपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्र लगायत सुरक्षा मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको छ। यस्ता सुरक्षा मुद्रण सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै स्वदेशभित्रै पूँजी परिचालन, रोजगारी सिर्जना र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्रीले बताएका छन्।