Skip to main content

उद्योग वाणिज्य महासंघअन्तर्गत रोजगारदाता परिषद् गठन प्रक्रिया सम्पन्न भयो

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रोजगारदाता परिषद् गठन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले श्रम क्षेत्रमा सुधारका लागि परिषद्ले नीतिगत रूपमा पैरवी गर्नुपर्ने बताएका छन्। बैठकले बाबुकाजी कार्कीलाई रोजगारदाता परिषद्को उपसभापतिमा सर्वसम्मत रुपमा मनोनयन गरेको छ। ३२ असार, काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगारसम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने मुख्य संस्थागत संयन्त्र रोजगारदाता परिषद् गठन प्रक्रिया पूर्ण भइसकेको छ। आज महासंघ सचिवालय टेकुमा सम्पन्न रोजगारदाता परिषद्को पहिलो बैठकमा परिषद्का सभापति प्रबलजंग पाण्डेको अध्यक्षतामा गठित सदस्यलाई महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे।

अध्यक्ष श्रेष्ठले श्रम तथा रोजगार क्षेत्र सुधार, सुदृढीकरण र उद्योग–व्यवसायमैत्री श्रम सम्बन्ध स्थापना गर्न रोजगारदाता परिषद्को भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले न्यूनतम पारिश्रमिक क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको जानकारी दिए। परिषद्का सदस्यहरूले निजी क्षेत्रको साझा धारणा तयार गरी प्रभावकारी नीतिगत पैरवी गर्नुपर्ने बताए।

बैठकले महासंघको विधान २०४९ (सातौँ संशोधन) को दफा ४३.१ अनुसार निर्वाचित एसोसिएट सदस्यमध्येबाट एक जनालाई उपसभापतिमा मनोनयन गर्ने व्यवस्था अनुसार बाबुकाजी कार्कीलाई उपसभापतिमा सर्वसम्मत मन्जुरी दिएको छ। परिषद्ले उद्योग–व्यवसायमैत्री श्रम वातावरण निर्माण, लगानी र उद्यमशीलता प्रवर्द्धन, उत्पादकत्व र प्रतिस्पर्धात्मकता वृद्धि, सामाजिक न्यायसहित श्रम सम्बन्ध विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।