पाकिस्तानी अलराउन्डर मोहम्मद नवाजलाई एन्टी–डोपिङ नियम उल्लंघनमा तीन महिनाको निलम्बन
आईसीसीले एन्टी–डोपिङ नियम उल्लंघन गरेको ठहर गर्दै पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको निलम्बन सजाय सुनाएको छ। नवाजले प्रतिबन्धित पदार्थ सेवन गरेको स्वीकार गरेपछि उनलाई तोकिएको उपचार कार्यक्रम पूरा गरेमा निलम्बन अवधि एक महिनामा सीमित हुने व्यवस्था गरिएको छ। सन् २०२६ को टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलपछि नवाजले खेलेका सबै खेलका व्यक्तिगत प्रदर्शन आईसीसीले रद्द गरिदिएको छ।
१ साउन, काठमाडौं। पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एन्टी–डोपिङ नियम उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको छ। ३२ वर्षीय नवाजले सन् २०२६ को टी–२० विश्वकपको क्रममा नेदरल्यान्ड्सविरुद्ध श्रीलंकाको कोलम्बोमा भएको खेलपछि गरिएको डोपिङ परीक्षणमा ‘कार्बोक्सी–टीएचसी’ नामक प्रतिबन्धित पदार्थका लागि पोजेटिभ नतिजा दिएका थिए। यो पदार्थ आईसीसीको एन्टी–डोपिङ नियमअन्तर्गत ‘सब्स्ट्यान्स अफ एब्युज’ को सूचीमा पर्छ। नवाजले आफ्नो गल्ती स्वीकार गरेका छन्।
उक्त पदार्थ खेल प्रदर्शन सुधारका लागि नभई प्रतियोगिताबाहिर प्रयोग गरिएको पुष्टि गरेपछि आईसीसीले उनलाई तीन महिनाको निलम्बन सजाय सुनाएको हो। यो सजाय उनले १ मे २०२६ देखि स्वेच्छिक अस्थायी निलम्बन सुरु गरेको मितिबाट लागू हुने गरी गणना गरिएको छ। साथै, आईसीसीले तोकेको ‘सब्स्ट्यान्स अफ एब्युज’ उपचार कार्यक्रम पूरा गरेमा अयोग्यताको अवधि एक महिनामा सीमित गरिने जनाएको छ। नवाजले हालसम्म दुई महिना १५ दिन निलम्बन अवधि पूरा गरिसकेकाले उपचार कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेमा थप अयोग्यता भोग्नुपर्ने छैन। आईसीसीका अनुसार ७ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध खेलेको खेलदेखि १ मे २०२६ सम्म नवाजले खेलेका सबै खेलका व्यक्तिगत प्रदर्शन भने रद्द गरिएको छ।






