
स्पेनविरुद्धको फाइनल केवल ९० मिनेट वा अतिरिक्त समयको खेल मात्र होइन, सम्भवतः विश्व फुटबलकै महान् करियरको अन्तिम विश्वकप अध्याय पनि हुनेछ। लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गर्दै स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको छ। विश्वकप इतिहासमा मेस्ले २१ गोल र सर्वाधिक १२ असिस्टको कीर्तिमान कायम गर्दै आफ्नो खेल जीवनको सम्भावित अन्तिम अध्यायमा ऐतिहासिक सफलताको खोजीमा छन्। अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो स्वर्णिम पुस्ताको नेतृत्व गरिरहेका मेसीलाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउँदै फुटबल इतिहासकै महान् खेलाडीको रूपमा बिदा गर्ने लक्ष्य राखेका छन्। १ साउन, काठमाडौं।
चार वर्षअघि कतारको रातमा लियोनेल मेस्सीले विश्वकपको अधुरो सपना पूरा गरे। उनले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै फुटबलमा आफूले जित्न बाँकी रहेको सबैभन्दा ठूलो उपाधि पनि उचाले। धेरैले त्यसलाई उनको करियरको पूर्णविराम ठानेका थिए। तर २०२६ को विश्वकपले फेरि अर्को कथा लेखिदियो। ३९ वर्षको उमेरमा पनि कप्तान मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म डोर्याउने मुख्य पात्र बनेका छन्। अब उनको अगाडि एउटा यस्तो अवसर छ, जसले उनलाई केवल अर्जेन्टिनाकै होइन, विश्व फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीका रूपमा अझ बलियो स्थान दिलाउन सक्छ।
स्पेनसँग आइतबार हुने फाइनल मेसीका लागि एउटा उपाधिको मात्र खेल होइन, यो उनको विश्वकप यात्राको सम्भावित अन्तिम अध्याय पनि हो। यस विश्वकपमा मेस्ले अहिलेसम्म ८ गोल गरेका छन्। यससँगै विश्वकप करियरमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन प्रतियोगिताको इतिहासमै दोस्रो सबैभन्दा धेरै हो। उनले यसअघि प्रतियोगितामा सबैभन्दा पहिले सर्वाधिक गोल गरेको कीर्तिमान तोडेका थिए। फ्रान्सका किलियन एमबाप्पेले आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा २ गोल गर्दै उक्त कीर्तिमान फेरि तोडेर मेस्सीलाई पछि पारे। मेस्सीले फाइनलमा २ गोल गरेमा फेरि अग्रस्थानमा आउने छन्। समूह चरणदेखि नकआउटसम्म निर्णायक प्रदर्शन गर्दै मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्याएका छन्।
अल्जेरियाविरुद्ध ह्याट्रिकमार्फत प्रतियोगिता सुरु गरेका मेस्सीले त्यसपछि अस्ट्रिया, जोर्डन, केप भर्डे, इजिप्ट हुँदै इंग्ल्यान्डविरुद्धको सेमिफाइनलसम्म आफ्नो प्रभाव कायम राखे। उनले गोल मात्र गरेनन्, खेलको गति नियन्त्रण गर्ने, अवसर सिर्जना गर्ने र कठिन अवस्थामा टोलीलाई अघि बढाउने पनि भूमिका निर्वाह गरे। गोल्डेन बुटको दौडमा पनि उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबर गोलमा थिए, तर आइतबार बिहान एमबाप्पेले २ गोल थप्दा उनी अघि बढे र मेस्सीको गोल्डेन बुटको सम्भावना झन् कठिन बनेको छ। मेस्सीले प्रतियोगिताको इतिहासमा सर्वाधिक असिस्टको कीर्तिमान पनि यही विश्वकपमा पूरा गरेका छन्। उनको असिस्ट संख्या १२ पुगेको छ, जुन दोस्रो स्थानमा रहेका डिएगो म्याराडोनाबाट ४ बढी हो।
फाइनलको अर्को रोचक पक्ष भने मेस्सीको स्पेनसँगको सम्बन्ध हो। व्यावसायिक फुटबलमा मेस्सीलाई विश्वको सर्वश्रेठ खेलाडी बनाउने यात्रा स्पेनमै सुरु भएको थियो। स्पेनी महारथी टोली बार्सिलोनामा दुई दशकभन्दा बढी समय बिताएका उनले त्यहाँ १० ला लिगा, ४ च्याम्पियन्स लिग, ७ कोपा डेल रे लगायत ३५ भन्दा बढी उपाधि जितेका छन्। स्पेनकै मैदानमा उनले फुटबल इतिहासका अविश्वसनीय रेकर्ड बनाए। अहिले त्यही देशको राष्ट्रिय टोली उनको लगातार दोस्रो विश्वकप जित्ने सपनाबीच उभिएको छ।
मेसीले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत दिएका छन्। त्यसैले स्पेनविरुद्धको फाइनल केवल ९० मिनेट वा अतिरिक्त समयको खेल मात्र होइन, सम्भवतः विश्व फुटबलकै महान् करियरको अन्तिम विश्वकप अध्याय पनि हुनेछ। यदि अर्जेन्टिनाले उपाधि रक्षा गर्न सफल भयो भने मेसीले लगातार दुई विश्वकप जित्ने कप्तानका रूपमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाउनेछन्। त्यसपछि उनको नामसँग जोडिने बहस सायद बाँकी नरहनेछ – फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडी। लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले पछिल्ला वर्षहरूमा कोपा अमेरिका, फाइनलिसिमा र विश्वकप जितिसकेको छ। अहिले उनीहरू लगातार दोस्रो विश्वकप जित्ने अवसरको दुवैचौडामा छन्। यो सफलता केवल मेस्सीको व्यक्तिगत उपलब्धि मात्र रहने छैन। एमिलियानो मार्टिनेज, रोमेरो, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियन आल्भारेज र लाउतारो मार्टिनेजजस्ता खेलाडीहरूले मेस्सीलाई अन्तिम विश्वकपमा अर्को उपाधि दिलाउने लक्ष्य राखेका छन्।






