ग्यालरी १०८ मा काठमाडौंका बस्ती र जात्राहरू झल्काउने कला प्रदर्शनी सुरु हुँदै

कलात्मक प्रदिप कुमार बज्राचार्यको एकल चित्रकला प्रदर्शनी ‘उत्सव : इन द रिदम अफ द जात्रा’ साउन ८ गते दरबारमार्गस्थित ग्यालरी १०८ मा सुरु हुँदैछ। यस प्रदर्शनीमा काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक बस्तीहरू, मच्छिन्द्रनाथ जात्रा, भोटो जात्रा, सिन्दुरे जात्रा लगायतका महत्वपूर्ण जात्राका चित्रहरू प्रदर्शन गरिनेछ। ग्यालरी १०८ का अनुसार, कलाकार बज्राचार्यले यी चित्रहरूको माध्यमबाट जात्राको धिमे बाजाको आवाज, भिडको गति, रंगहरूको छटा, भक्तहरूको श्रद्धा र सडकको ऊर्जा जीवित क्यानभासमा उतार्ने प्रयास गरेका छन्।
प्रदर्शनीका सबै चित्रहरू वर्गाकार शैलीमा तयार पारिएका छन्, जसले सम्पूर्ण श्रृंखलामा लय, सामञ्जस्यता र अन्तरसम्बन्धलाई सिर्जना गरेको कलाकार बताउँछन्। यस प्रदर्शनीले नेपालको जीवित सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिएको छ। ग्यालरी १०८ का संस्थापक सुगत आर. शाक्यका अनुसार, यो प्रदर्शनीले मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने सन्देश प्रवाह गर्नेछ। प्रदर्शनी भदौ ७ गतेसम्म सञ्चालन हुनेछ।






