Skip to main content

पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा अजन्था मेन्डिस नियुक्त

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि श्रीलंकाका पूर्व क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले टोलीको प्रदर्शनमा सुधार ल्याउने अपेक्षासहित व्यवस्थापनले मेन्डिसलाई जिम्मेवारी दिएको हो। मेन्डिसले नेपालमा क्रिकेटको स्तर उकासिँदै गएको व्यहोरा औंल्याउँदै खेलाडी र व्यवस्थापनसँग मिलेर बलियो टोली निर्माण गर्ने आफ्नो लक्ष्य व्यक्त गरे।

३ साउन, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ। आगामी सिजन टोलीलाई प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित पोखरा एभेन्जर्सले मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ। श्रीलंकाका सफल स्पिनरमध्ये एक मानिने मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै प्रारूपमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन्।

आफ्नो रहस्यमय बलिङ शैलीका कारण चर्चित मेन्डिस सन् २००८ को एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उक्त प्रतियोगितामा श्रीलंकालाई उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रह्यो। पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार मेन्डिसको आगमनले टोलीको प्रदर्शन सुधार हुनुका साथै युवा खेलाडीहरूको विकासमा पनि टेवा पुग्नेछ। मुख्य प्रशिक्षक नियुक्त भएपछि मेन्डिसले पोखरा एभेन्जर्स परिवारसँग आवद्ध हुन पाउँदा खुसी लागेको व्यक्त गरे। उनले खेलाडी, प्रशिक्षक र व्यवस्थापनसँग मिलेर बलियो टोली निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नेपालमा क्रिकेटको स्तर तीव्र गतिमा विकास हुँदै गएको र यहाँ प्रशस्त प्रतिभा रहेको बताए। पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा मेन्डिसको नेतृत्वमा उपाधि चुनौती प्रस्तुत गर्ने अपेक्षा राखेको छ।