
अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तोले कपिलवस्तु र लुम्बिनी क्षेत्रको पृष्ठभूमिमा आधारित आफ्नो नयाँ पुस्तक ‘क्र्याक्स इन द विन्ड’ सार्वजनिक गरेका छन्। यो कृति आत्मस्मरण मात्र होइन, तथ्य र काल्पनिकताको मिश्रण हो र यसले तराई-मधेसको बहुसांस्कृतिक समाजलाई जीवित रूपमा चित्रण गरेको लेखकले बताएका छन्। प्राध्यापक गुप्तोले फ्लोरेन्स र काठमाडौंको कला तथा प्यालेस्टाइनको विषयमा आधारित दुई नयाँ पुस्तकमा काम गरिरहेको जनाएका छन्।
गुप्तोको बौद्धिक पहिचान निकै विशिष्ट छ। राउटलेज र रुपा जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशनबाट उनका संस्कृति र समालोचना सिद्धान्तका पुस्तकहरू प्रकाशित भइसकेका छन्। तर यसपटक उनले फरक शैलीमा प्रस्तुत गरेका छन्। रुपा पब्लिकेसनबाट हालै बजारमा आएको उनको नयाँ पुस्तक ‘क्र्याक्स इन द विन्ड: मेमोआर्स फ्रम लुम्बिनी’ सिद्धान्तपूर्ण वार्ता होइन, बरु उनको बाल्यकाल, किशोरावस्था र तराई-मधेसको एक सीमान्त समाजको जीवन्त चित्रण हो।
लेखक गुप्तोसँग यस पुस्तक र यसका अनौठा पात्रहरूबारे गरिएको कुराकानीमा उनले भने, “यो पुस्तक केवल आत्मवृत्तान्त होइन। मेरो कपिलवस्तु र लुम्बिनी क्षेत्रको बाल्य र किशोरकालको कथा हो। तर यो मात्र मेरो व्यक्तिगत कथा होइन; त्यो समयको समाजको परिवर्तनको कथा हो।” उनले थपे, “फ्याक्ट र फिक्सन सधैंसँगै जानुपर्छ। फिक्सन झुटो होइन, सत्यलाई अझ प्रसिद्ध बनाउने काम गर्छ। म दुवैलाई सँगै मिलाउने कोसिस गर्छु।”
गुप्तोले आगामी पुस्तकको विषयमा पनि जानकारी दिए, “म अहिले दुई किताबमा काम गरिरहेको छु। एउटामा फ्लोरेन्स र काठमाडौंको कला र संस्कृतिमा similarity देखाउन खोजेको छु। अर्को पुस्तक प्यालेस्टाइनको युद्ध र त्यहाँको पीडादायी घटनामा आधारित म्याजिकल रियलिस्टिक कथा हो।”






