
युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको छ। स्पेनले न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो घर ल्याएको छ। अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलमार्फत १६ वर्षपछि स्पेन पुनः विश्व च्याम्पियन बन्यो। प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा रहेको स्पेनले युवा प्रतिभा र अनुभवी खेलाडीहरुको सन्तुलित प्रदर्शनमार्फत विश्व फुटबलमा आफ्नो आधिपत्य पुनः स्थापित गरेको छ। ४ साउन, काठमाडौं।
१६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव पाएको छ। न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्ष लामो प्रतीक्षा समापन गर्यो। सन् २०१० पछि पहिलोपटक विश्वकप उठाउदै स्पेनले आफ्नो नयाँ पुस्तालाई विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ।
प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो। बल नियन्त्रण, उच्च दबाब, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्यायो। फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायम राख्यो र साविक विजेता अर्जेन्टिनालाई पराजित गर्यो। फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर आक्रमण गर्ने खेल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर सिर्जना गर्यो। जितका लागि भने अतिरिक्त समय कुर्नुपर्यो।
नयाँ पुस्ताको स्वर्णिम उदय एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारहरुसँग पुनः शिखरमा पुगेको छ। लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो। स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड हासिल गरे।






