
गत आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्लाबाट सबैभन्दा बढी ३८ हजार ५ सय ५३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्राप्त गरेका छन्। वैदेशिक रोजगार विभागका तथ्यांक अनुसार मनाङबाट सबैभन्दा कम २ सय १७ जनाले मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्। उक्त आवमा कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएका मध्ये तराई क्षेत्रका जिल्लाबाट जाने संख्या हिमाली जिल्लाको तुलनामा बढी देखिएको छ।
वैदेशिक रोजगार विभागले जारी गरेको तथ्यांक अनुसार ७७ जिल्लामध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारमा गएका छन्। झापा बाट ३५ हजार १ सय २४, मोरङबाट ३१ हजार १ सय २४, सिरहाबाट ३० हजार २ सय ११, महोत्तरीबाट २८ हजार २ सय २९, रुपन्देहीबाट २५ हजार ३ सय ९१, सुनसरीबाट २४ हजार ३ सय ६५, सर्लाहीबाट २३ हजार २ सय, सप्तरीबाट २० हजार ५ सय ५९ र चितवनबाट १९ हजार ८ सय ३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
मनाङबाट मात्र २ सय १७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि मुस्ताङ २ सय ४४, डोल्पा ६ सय १४, हुम्ला ६ सय ४३, डोटी १ हजार १ सय ६५, कालीकोट १ हजार २४, जुम्ला १ हजार ३ सय ९४, रसुवा १ हजार ७ सय ७१, रुकुम पश्चिम २ हजार १ सय ६६, डडेल्धुरा २ हजार ३ सय १९, र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षभर वैदेशिक रोजगारका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। पुनः श्रम स्वीकृति निरस्तीकरणपछि नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६ हजार ४०४ रहेको विभागको तथ्यांकले देखाएको छ। तथ्यांकले देखाउँछ कि तराई क्षेत्रका जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरूको संख्या बढी रहेको छ भने हिमाली तथा कम जनसंख्या भएका जिल्लाबाट श्रम स्वीकृति लिनेहरूको संख्या कम रहेको छ।






