Skip to main content

घरेलु मैदानको लयलाई विदेशी कन्डिशनमा पनि निरन्तरता दिने लक्ष्य

घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यसै लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड्स पुगेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको लागि नेपाली क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ। साउन ५ देखि सुरु हुने प्रतियोगितामा नेपाल आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोटको यात्रा अगाडि बढाउने लक्ष्य राखेको छ। कप्तान रोहित पौडेलले टोलीको फिटनेस र लय कायम राख्दै शीर्ष चारमा पर्नु नै मुख्य उद्देश्य रहेको बताएका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यात्रा फेरि निर्णायक मोडमा आएको छ। घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यही लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यका साथ नेदरल्यान्ड्स पुगेको छ। साउन ५ देखि नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक शृङ्खलामा नेपाल आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा दुई लगातार शृङ्खलामा प्रभावशाली प्रदर्शन गरेपछि नेपालका लागि वास्तविक परीक्षा विदेशी अवस्थाहरूमा हुनेछ।

कप्तान रोहित पौडेलले विश्वकप छनोट र ओडीआई स्टाटसका लागि शृङ्खला धेरै महत्त्वपूर्ण भएको बताउँदै राम्रो प्रदर्शन गर्ने बताए। ‘लास्ट दुइ सिरिज एकदमै राम्रो भएका छन्, अब नेदरल्यान्ड्स सिरिजमा हामी केन्द्रित छौं’ उनले भने, ‘हाम्रो लक्ष्य एकदिवसीय विश्वकप खेल्नु हो, त्यस अनुरूप खेलिरहेका छौं।’ यस्तै नेपाली टोलीका पेस बलर सोमपाल कामीले आगामी शृङ्खला धेरै महत्त्वपूर्ण रहेको र शीर्ष चारमा पर्नेदेखि नतिजा दिनुपर्ने बताए।

नेदरल्यान्ड्समा सुरु हुने यो शृङ्खला नेपालका लागि अंक जोड्ने अवसर मात्र नभई विश्वकप छनोटको यात्रा जीवित राख्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षा पनि हुनेछ। कप्तान रोहितले भनेका छन् कि, ‘हामीले केही समय स्किल र अधिकांश समय फिटनेसमा बढी काम गरेका छौं, त्यसैले तयारी राम्रो छ।’