Skip to main content

देशभरि ७४ प्रतिशत धान रोपाइँ सम्पन्न

यस वर्ष साउन ४ गतेसम्म देशभरि कुल धान खेती हुने क्षेत्रफलको ७३.६१ प्रतिशत अर्थात् १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित अग्रस्थानमा छ भने मधेस प्रदेश ५७.९३ प्रतिशत मात्र रोपाइँ गरेर सबैभन्दा पछाडि रहेको छ। गत वर्षको सोही अवधिको ७२.१४ प्रतिशतको तुलनामा यस वर्ष राष्ट्रिय रोपाइँ दरमा केही सुधार देखिए पनि केही प्रदेशमा भने गत वर्षभन्दा रोपाइँ दर घटेको छ।

यस वर्ष सोमबारसम्म देशभरि करिब ७४ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागका तथ्यांक अनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। यो कुल क्षेत्रफलको ७३.६१ प्रतिशत हो। गत वर्ष सोही अवधिसम्म देशभरि ७२.१४ प्रतिशत रोपाइँ भएको थियो। प्रदेशगत रुपमा हेर्दा यस वर्ष सुदूरपश्चिम प्रदेशले धान रोपाइँमा सबैभन्दा अगाडि छ भने देशकै सबैभन्दा बढी धान खेती हुने मधेस प्रदेश सबैभन्दा पछाडि रहेको छ।

तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमध्ये अहिले सम्म १ लाख ४७ हजार १ सय ६ हेक्टरमा अर्थात् ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भएका छन्। यद्यपि, अघिल्लो वर्ष साउन ४ सम्म सुदूरपश्चिममा ९६.९९ प्रतिशत रोपाइँ भइसकेको थियो। त्यस्तै मधेस प्रदेशमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा मात्र धान रोपाइँ गरिएको छ जुन कुल क्षेत्रफलको ५७.९३ प्रतिशत मात्र हो।

त्यसैगरी कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफल रहेको कोशी प्रदेशमा अहिले सम्म २ लाख ४ हजार ३ सय ४७ हेक्टरमा अर्थात् ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष सोही अवधिमा कोशी प्रदेशमा ६१.७१ प्रतिशत मात्र रोपाइँ भएको थियो। लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूमा यस वर्ष रोपाइँ दर गत वर्षको तुलनामा घटेको छ।