Skip to main content

नेपाल, चीन र एफएओबीच त्रिपक्षीय साझेदारीमा ‘कृषि खाद्य प्रणाली सुदृढीकरण’ परियोजना सुरु

नेपाल, चीन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को त्रिपक्षीय साझेदारीमा ‘नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण’ (Strengthening Agrifood Systems in Nepal) परियोजना ४ साउनमा औपचारिक रुपमा सुरु भएको छ। आगामी २४ महिनासम्म संचालन हुने यस परियोजनाले नेपालका पहाडी तथा हिमाली जिल्लाहरुमा जलवायु–उपयुक्त कृषि प्रणाली विकास, ग्रामीण जीविकोपार्जनमा सुधार र खाद्य तथा पोषण सुरक्षाको सुदृढीकरण गर्ने लक्ष्य राखेको छ। चीन सरकारले स्थापना गरेको ‘विश्व विकास तथा दक्षिण–दक्षिण सहयोग कोष’ (Global Development and South–South Cooperation Fund) बाट प्राप्त आर्थिक सहयोगमा संचालित यो परियोजनाले स्थानीय संस्थाहरुको क्षमता अभिवृद्धि गर्नेछ।

कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ र एफएओका नेपाल प्रतिनिधि केन शिमिजुको पनि उपस्थिति रहेको थियो। मन्त्री चौधरीले यस परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकास लक्ष्यहरु हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। चिनियाँ राजदूत झाङले नेपालको कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।

यो परियोजना अन्तर्गत ‘डिजिटल कृषि विस्तार सेवा’ मार्फत किसानहरुलाई प्राविधिक सल्लाह, मौसम सम्बन्धी जानकारी, वित्तीय सेवा, कृषि बीमा तथा बजार अवस्था सम्बन्धी सूचनाहरु प्रदान गरिनेछ। यसले विशेष गरी महिला, युवा तथा सीमांतकृत समुदायहरुको सहभागिता बढाउने तथा स्थानीय संस्थाहरुको जलवायु अनुकूलन क्षमतालाई थप सुदृढ बनाउने छ। यो सहकार्य अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान तथा अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा नेपालको कृषि र खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।