
क्यानडाको वाटरलु विश्वविद्यालयको अध्ययनअनुसार महिलाले पुरुषको तुलनामा धेरै पटक र छिटो माफी माग्ने गरेको पाइएको छ। ‘ठीक छ, सरी… मेरो गल्ती भयो।’ ‘ल, अब कुरा यत्तिमै टुंग्याऔँ… आई एम सरी ।’ यी वाक्यांशहरू दैनिक जीवनमा धेरै महिलाहरूको मुखबाट सुन्न पाइन्छ। कहिलेकाहीं आफ्नो गल्ती नभए पनि उनीहरू सहजै ‘सरी’ भन्न थाल्छन्। बसमा कसैसँग हल्का ठोक्किँदा, बैठकमा धारणा राख्नुअघि, सहयोग माग्दा, केही मिनेट ढिला हुँदा वा कुनैलाई बीचमै रोक्नुपर्दा पनि महिलाहरू अनायासै ‘सरी’ प्रयोग गर्छन्। माफी माग्नु सभ्य र जिम्मेवार व्यवहार हो। तर गल्ती नभएको अवस्थामा पटक–पटक ‘सरी’ भन्नु राम्रो बानी मात्र होइन, यो व्यक्तिको आत्मविश्वास, सामाजिक संस्कार र मनोवैज्ञानिक अवस्थासँगसमेत सम्बन्धित हुन सक्छ।
क्यानडाको ओन्टारियोस्थित वाटरलु विश्वविद्यालयको एक अध्ययनले देखाएको छ कि महिलाहरू पुरुषको तुलनामा धेरै र छिटो माफी माग्ने गर्छन्। तर यसको अर्थ महिलाहरू बढी गल्ती गर्छन् भन्ने होइन। अध्ययनले देखाएको मुख्य कुरा के हो भने महिलाहरूलाई दैनिक जीवनका सामान्य घटनाहरू पनि अरूलाई असुविधा पुर्याएको महसुस हुन्छ र सम्बन्ध राम्रो राख्नका लागि सहजै माफी माग्छन्। महिलामा ‘सरी’ भन्नुको कारण के हो? महिलाले पुरुषभन्दा बढी पटक वा छिटो माफी माग्नुको पछाडि सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारणहरू मुख्य भूमिका खेल्छन्। यो कुनै जैविक विशेषता होइन।
बाल्यकालदेखि सिकाइने सामाजिक संस्कार धेरै समाजमा छोरीहरूलाई सानैदेखि विनम्र, शान्त, मिलनसार, सहयोगी र अरूको भावना बुझेर व्यवहार गर्ने सिकाइन्छ। उनीहरूलाई झगडा नगर्न, ठूलो स्वरमा नबोल्न र सम्बन्ध जोगाउन विशेष जोड दिइन्छ। यसको प्रभाव वयस्क भएपछि पनि देखिन्छ। कुनै असहज स्थिति आएमा महिलाहरूले पहिले ‘सरी’ भनिरहनु उचित ठानेर यसको प्रयोग गर्छन् जुन पछि उनीहरूको सञ्चार शैलीको हिस्सा बन्न पुग्छ। अध्ययनले महिलाको यो व्यवहार कमजोरी होइन, सामाजिक अनुभव र हुर्काइसँग सम्बन्धित कुरा भएको निष्कर्ष निकालेको छ।






