
समाचार सारांश पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल जुलाई २२ मा कजाखस्तानसँग खेल्नेछ। हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली उक्त प्रतियोगितामा सहभागी हुन पाकिस्तान पुगिसकेको छ। नेपालले पहिलोपटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो जसले विश्व भलिबलको मानचित्रमा नेपालको नाम पुनः समावेश गर्नेछ। ५ साउन, काठमाडौं। पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसियसनले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्नेछ। उक्त खेल जुलाई २२ तारिखमा हुनेछ। उक्त दिन उज्वेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। ६ टोली सहभागी च्याम्पियनसिपमा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछ। शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। पाँचौं र छैटौं स्थानमा रहने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल जुलाई २८ र फाइनल खेल जुलाई २९ मा हुनेछ। पहिलो सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। विश्व भलिबलको मानचित्रमा नाम फेरि एक पटक समावेश गर्ने अवसर नेपाललाई बन्नेछ। सुरुवातमा अफगानिस्तान सहभागी हुने भनिएता पनि अन्तिम समयमा सहभागी नहुँदा उज्वेकिस्तानले अवसर पाएको हो।






