Skip to main content

वैदेशिक रोजगार विभागमा ठगीका उजुरी अनलाइनमार्फत दर्ता गर्ने व्यवस्था लागू

वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी र मुद्दा दर्ता गर्न सक्ने नयाँ अनलाइन प्रणालीको उद्घाटन युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले गर्नुभएको छ। अब पीडितहरुले विभागमा भौतिक रूपमा नजाँदै आवश्यक प्रमाणसहित घरबाटै अनलाइनमार्फत उजुरी दिने व्यवस्था गरिएको छ। श्रम मन्त्री यादवले स्वदेशी श्रमिकको शोषण अन्त्य गर्न नयाँ अनलाइन प्लेटफर्म चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

५ साउन, काठमाडौं। वैदेशिक रोजगार विभागमा उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सुरु गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो। अब वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी तथा मुद्दा अनलाइनमार्फतै दिन सकिने व्यवस्था भएको छ। श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले डिजिटल प्रणालीमार्फत उजुरी तथा मुद्दा दर्ता गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो। ठगीका घटनामा भौतिक उपस्थित नभएर पनि अनलाइनमार्फत उजुरी दिन सकिने जानकारी उहाँले दिनुभयो।

अहिले सम्म ठगीका उजुरी विभागमै उपस्थित भएर दिनुपर्ने व्यवस्था थियो। तर अब अनलाइनबाट आवश्यक प्रमाणसहित उजुरी दिन सकिनेछ भन्ने प्रवक्ता घिमिरेको भनाइ छ। विभागको अनुगमन र प्रणाली उद्घाटन गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा वैदेशिक रोजगार तत्काल रोक्न नसकिने भएकाले यसलाई सुरक्षित र मर्यादित बनाउन सरकारले केन्द्रित भइसकेको बताए।

सरकारले नेपाली श्रमिकहरुको शोषण अन्त्य गरी सुरक्षित र उच्च प्रतिफल दिने युरोपेली मुलुकहरूसँग श्रम सम्झौता गर्ने पहल अघि बढाएको मन्त्री यादवले जानकारी दिनुभयो। श्रम मन्त्रालयले स्वदेशी श्रमिकका समस्या र शोषणसम्बन्धी उजुरी सम्बोधन गर्न नयाँ अनलाइन प्लेटफर्म चाँडै सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो। देशभित्र काम गर्ने श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणको समस्या उजुरी गर्न सकून् भनेर श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने योजना बनाएको मन्त्री यादवले बताए। यस प्रणालीको कार्यान्वयनसँगै साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।