
विश्व फुटबलका सफल प्रशिक्षक पेप ग्वार्डिओलालाई इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनाउने विषयमा छलफल अघि बढेको छ। इटालियन फुटबल महासंघका प्रतिनिधिले बार्सिलोना पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म वार्ता गरेका छन्। ग्वार्डिओला नियुक्त भएमा उनी सन् १९६० को दशकयता इटाली टोली सम्हाल्ने पहिलो गैर-इटालियन प्रशिक्षक हुनेछन्।
५ साउन, काठमाडौं। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन्। इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ। स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल गरेका थिए।
यदि ग्वार्डिओला नियुक्त भए उनी सन् १९६० दशकपछि इटाली राष्ट्रिय टोली सम्हाल्ने पहिलो गैर–इटालियन प्रशिक्षक बन्नेछन्। यसअघि रोबर्टो मान्चिनी र आन्द्रेआ पिर्लो पनि प्रशिक्षक पदका दाबेदार मानिएका छन्। ५५ वर्षीय ग्वार्डिओलाले गत मे महिनामा म्यानचेस्टर सिटीसँगको सफल १० वर्षे यात्रा टुंग्याएका थिए। उनले सिटीलाई २० उपाधि दिलाएका थिए, जसमा ६ प्रिमियर लिग, ३ एफए कप, ५ लिग कप, ३ कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग, १ युइएफए सुपर कप र १ फिफा क्लब विश्वकप समावेश छन्।
यसअघि उनले बार्सिलोना र बायर्न म्युनिखलाई पनि घरेलु तथा युरोपेली फुटबलमा ऐतिहासिक सफलता दिलाएका थिए। ग्वार्डिओलाले प्रशिक्षक बन्नुअघि इटालीको सिरी एमा पनि खेलेका थिए। उनले सन् २००१ देखि २००३ सम्म ब्रेसिया र रोमाबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी इटालियन भाषा पनि धाराप्रवाह बोल्छन्। सन् २०२१ मा युरोपियन च्याम्पियन बनेको इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रह्यो। फिफा विश्वकप २०२६ को युरोपियन छनोट प्लेअफमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षक जेन्नारो गाट्टुसोले अप्रिलमा पद छाडेका थिए।






