
अस्ट्रेलियामा एक महिलाले समान आनुवंशिकता भएका चार चम्ल्याहा शिशुहरूलाई जन्म दिएकी छिन्। यी शिशुहरू प्राकृतिक गर्भाधारणबाट जन्मिएका हुन् र यस्तो घटनालाई अत्यन्तै दुर्लभ मानिन्छ। रोयल ब्रिज्बेन एन्ड विमेन्स अस्पतालले उक्त महिलाको गर्भधारणलाई “अत्यधिक जोखिमयुक्त” घोषणा गरेको थियो।
गत जुलाई १४ तारिखमा, २८ हप्ता चार दिन बाँकी हुँदा शल्यक्रिया मार्फत ती महिलाले चार बालिकालाई जन्म दिइन्। यी चारै चम्ल्याहा शिशुहरू ‘मोनोजाइगोटिक’ हुन्, जसको अर्थ एउटै निषेचित डिम्बबाट विभाजित भएर चार भ्रूणहरू बनेका हुन्। अस्पतालका अनुसार ३४ वर्षीया जेनिटर नाअमोआना र उनका पति जोर्थमसँग पहिले नै चार सन्तानहरू छन्। स्त्रीले गर्भमा चम्ल्याहा शिशु भएको थाहा पाएर उनीहरू निकै अचम्मित भए।
गर्भधारणको प्रारम्भदेखि आमाको स्वास्थ्य परीक्षण गरिरहेका डाक्टर एलेक्सा बेन्डलले भनिन्, “यस्तो उस्तै देखिने चम्ल्याहा शिशुको जन्म लगभग डेढ करोड गर्भधारण मध्ये एकजना माताबाट मात्रै हुन्छ। त्यसैले यी शिशुहरूको प्लासेण्टा एउटै हुनु अनौठो र पहिलो पटक थाहा पाएको कुरा हो।” जेनिटरको गर्भधारण उच्च जोखिमयुक्त थियो र २५ हप्ताको अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो।
“यदि उनको गर्भलाई २८ हप्तासम्म लम्ब्याउन सकियो भने राम्रो हुने विश्वास थियो,” बेन्डलले भने। “त्यसैले २८ हप्ता चार दिनमा चार स्वस्थ र सुन्दर शिशुहरूको जन्म हुनु साँच्चै अद्भुत छ र हामी यसमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी छौं,” उनले थपिन्। नवजात शिशुहरूलाई क्रमशः एमिली, ह्यारियट, क्याथरिन र एलेक्सा भनेर नामकरण गरिएको छ। डा एलेक्सा बेन्डलले तीमध्ये एक शिशुलाई ‘सापट’ भनेर पनि नाम दिएकी छिन्, जसलाई उनले “सुन्दर सम्मान” भनेकी छिन्।






