Skip to main content

प्रधानमन्त्रीसँग एक घण्टा छलफलपछि तयारी पोसाक उद्योगीहरू किन उत्साहित भए?

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि तयारी पोसाक उद्योगीहरू उत्साहित भएका छन्। प्रधानमन्त्री शाहले रुग्ण उद्योगलाई पुनः सञ्चालन गरी निर्यात प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले उद्योगीका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई तत्काल निर्देशन दिएका छन्। ५ साउन, काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र शाहसँग एक घण्टा छलफल गरेपछि तयारी पोसाक उद्योगी उत्साहित भएका छन्। प्रधानमन्त्री शाहले मुलुकको तयारी पोसाक उद्योगलाई पुनर्जीवित गराइ अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेपछि उद्योगी उत्साहित भएका हुन्। मंगलबार बिहान साढे ११ बजेदेखि एक घण्टासम्म नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

प्रधानमन्त्री शाहले नेपालको तयारी पोसाक क्षेत्रले बंगलादेश, चीन, भियतनाम, भारत र श्रीलंकाको तुलनामा अपेक्षित प्रगति गर्न नसकेकोमा चासो व्यक्त गरे। संघ अध्यक्ष पशुपतिदेव पाण्डेले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा भने, ‘देश तपाईंहरूले नै ड्राइभ गर्ने हो, हामी त मध्यस्थकर्ता मात्रै हौं, तपाईंहरूले नै काम गर्नुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभएको छ।’

प्रधानमन्त्री शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अड्किएका तत्काल गर्नुपर्ने कामबारे जानकारी गराएको थियो। उनले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनका लागि सक्रियता देखाएका छन्। अध्यक्ष पाण्डेले प्रधानमन्त्रीको निर्देशनपछि अब उद्योग मन्त्रालयमा थप छलफलका लागि जान लागेको जानकारी दिए।