
दुई महिना अघि घरेलु मैदानमा सम्पन्न लिग २ को दुवै सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष चारमा स्थान बनाउने आशा देखाएको नेपालले विदेशी भूमिमा पुनः कमजोर प्रदर्शन जारी राखेको छ। नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५७ रनमा अलआउट हुँदा नामिबियाले २ विकेट मात्र गुमाएर लक्ष्य सजिलै पुरा गर्यो। नेपालका कप्तान रोहित पौडेलले नामिबियाको उत्कृष्ट बलिङ र आफ्नो टोलीको कमजोर ब्याटिङ प्रदर्शनलाई हारको मुख्य कारण बताएका छन्। २०२४-२६ को लिग २ साइकलमा नयाँ सिरिजको पहिलो खेलमै नेपालले अफ्रिकी राष्ट्र नामिबियासँग ८ विकेटले सहज पराजय भोगेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभरअघि सबै विकेट गुमाएर १५७ रनमा समेटियो। नामिबियाले १५८ रनको लक्ष्य ७४ बल बाँकी राख्दै २ विकेट मात्र गुमाएर पूरा गर्यो। यो लिग २ मा नेपालले नामिबियासँग तेस्रो पटक हार व्यहोरेको हो। लिग २ मा २९ खेल सकिसकेको नेपाल २४ अंकसहित पाँचौं स्थानमा छ। नेपालले बाँकी ७ खेल सबै जिते पनि स्कटल्यान्डसँग बराबरी अंकमा रहनेछ।
नेदरल्यान्ड्समा बाँकी तीन खेलपछि नेपाल अन्तिम सिरिज ओमानमा खेल्नेछ, जहाँ अक्टोबरमा ओमान र क्यानडासँग २-२ खेल खेल्नेछ। कप्तान रोहित पौडेलले आगामी खेलमा राम्रो योजना बनाएर खेल्ने प्रतिबद्धता जनाए। नामिबियाका ओपनर माइकल भान लिन्गेन र जान फ्रायलिंकले उत्कृष्ट ब्याटिङ गर्दै दुवैले अर्धशतक प्रहार गरे र ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जित सुनिश्चित गरे। अब नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।






