Skip to main content

होर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज जलघाँटी नियन्त्रण गरे विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित हुने चेतावनी दिनुभएको छ। रुबियोले कुनै पनि राष्ट्रलाई अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध सिर्जना गर्ने र जहाजमाथि आक्रमण गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो। अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलघाँटीमा इरानको क्षमता कमजोर बनाउन निरन्तर सैन्य आक्रमण जारी राखेको छ। ६ साउन मनिला, (रासस/एएफपी)।

रुबियोले होर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन्। उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताए। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको मनिलामा जारी बैठकका क्रममा सम्बोधन गर्दै रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क असुल्ने र अस्वीकार गर्ने जहाजमाथि आक्रमण गर्ने अधिकार नपाउने स्पष्ट पारे।

उजका अनुसार त्यस्तो अभ्यास स्वीकार गरिए अन्तर्राष्ट्रिय समुद्री कानून र स्वतन्त्र जलयात्राको आधारभूत सिद्धान्त कमजोर हुनेछ। उनले इरानले होर्मुज जलघाँटी हुँदै हुने आवागमन नियन्त्रण गर्ने अधिकार दाबी गरिरहेको भए पनि विद्यमान कुनै पनि अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाले त्यसलाई मान्यता नदिएको बताए। जलयात्राको स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएकाले त्यसमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो।

रुबियोको अभिव्यक्ति अमेरिकी सेन्ट्रल कमान्डले इरानको सैन्य पूर्वाधारमाथि लगातार एघारौँ रातसम्म आक्रमण जारी राखेको जानकारी सार्वजनिक गरेलगत्तै आएको हो। अमेरिकी सेनाका अनुसार ती आक्रमणको उद्देश्य होर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउनु हो। उनका टिप्पणी दक्षिण चीन सागरमा चीन र आसियानका केही सदस्य राष्ट्रबीच जारी समुद्री विवादको सन्दर्भमा पनि अर्थपूर्ण मानिएको छ। मनिलामा रुबियोको आगमनअघि नै फिलिपिन्स र चीनका जहाजबीच विवादित जलक्षेत्रमा भएको पछिल्लो झडपप्रति अमेरिकाले आलोचना जनाएको थियो।