Skip to main content

थाइल्यान्डले कम्बोडिया सीमामा पहिलो स्थायी पर्खाल निर्माण सम्पन्न गर्यो

७ साउन, काठमाडौं। थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पहिलो स्थायी पर्खालको निर्माण कार्य समाप्त गरेको छ। गत वर्ष दुईपटक भएका हिंस्रक झडपपछि सिर्जित तनावका बिच थाइल्यान्ड सेनाले बुधबार यस विषयमा जानकारी दिएको हो। पूर्वी पोङ नाम रोन क्षेत्रमा १.३ किलोमिटर लामो संरचना तयार पारिएको छ। यस पर्खालमा कङ्क्रिट प्यानल, स्टिल मेस र काँडेतार प्रयोग गरिएको छ। रक्षा प्रमुख जनरल उक्रित बुन्तानोनले यसलाई दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न ‘स्थायी, बलियो र टिकाउ’ रहेको बताएका छन्।

स्थलगत निरीक्षणका क्रममा आएका पत्रकारहरूसँग जनरल उक्रितले भने, ‘यहाँका कङ्क्रिट पर्खालका प्यानलहरूको परीक्षण गरिएको छ। यसले साना हतियारका गोलीबाट सुरक्षा गर्न सक्षम रहेको हामीले पुष्टि गरेका छौँ।’ पहिलो भागसँग जोडेर थप ७ किलोमिटरभन्दा बढी पर्खाल निर्माण गर्ने योजना थाइल्यान्ड सेनाको रहेको बताइएको छ। अन्य ८१७ किलोमिटर लामो सीमा क्षेत्रको भौगोलिक अवस्था अध्ययन गरी थप निर्माण अघि बढाइने योजनामा रहेको उनले बताए।

उक्रितले थपे, ‘प्रत्येक भागको भौगोलिक स्थिति फरक छ। लाभदायक र आगामी दिनमा समस्या नउठ्ने ठाउँहरूमा मात्र निर्माण गरिनेछ।’ थाइल्यान्ड र कम्बोडियाको सीमामा हाल पनि सैनिक बल परिचालनमा छन्। सीमा विवादका कारण गत वर्ष जुलाई र डिसेम्बरमा द्विपक्षीय हवाई आक्रमण र तोपखानाको प्रहार गरी हिंस्रक झडपहरू भएको थियो। ती झडपमा करिब १५० जनाको ज्यान गएको थियो भने करिब ३ लाख मानिस विस्थापित भएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि जुलाईको झडप पाँच दिनमै रोकिन सफल भएको थियो। डिसेम्बरमा पुनः २० दिनसम्म झडप चलेको थियो, त्यसपछि दुवै पक्षले द्विपक्षीय युद्धविराममा सहमति जनाएका थिए।