Skip to main content

महिला भलिबलमा नेपाल, जापान र इन्डोनेसिया समूह ‘ए’ मा समावेश

जापानमा आयोजना हुने एसियन गेम्स २०२६ को महिला भलिबलमा नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँग परेको छ। विश्व वरियताको आधारमा छनोट भएको नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियन गेम्समा भाग लिनेछ। नेपाली टोली हाल ‘मिशन २०२६’ अन्तर्गत विशेष तयारीमा जुटिरहेको छ भने प्रतियोगितामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य राखेको छ। ७ साउन, काठमाडौं।

जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबल समूह चरणमा नेपालले जापान र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताका लागि बिहीबार ‘ड्र’ सम्पन्न भएको हो। ड्र अनुसार नेपाल समूह ‘ए’ मा एसियाली महाशक्ति जापान र इन्डोनेसियासँग परेको छ। नेपाली महिला टोली लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो। विश्व वरियताको आधारमा एसियाका शीर्ष १६ टोलीभित्र रहँदै नेपालले प्रतियोगितामा आफ्नो स्थान सुनिश्चित गरेको छ। हाल नेपाल विश्व वरियतामा ६८औं स्थानमा रहेको छ।

नेपालसँगै रहेको आयोजक जापान एसियाकै एक बलियो टोली हो भने इन्डोनेसिया पनि दक्षिण पूर्वी एसियाको प्रतिस्पर्धी टोलीका रूपमा परिचित छ। जापान छैटौं र इन्डोनेसिया ६०औं स्थानमा छन्। नेपाली महिला टोली हाल ‘मिशन २०२६’ अन्तर्गत विशेष तयारीमा लागिरहेको छ। एसियन गेम्समा नेपालको लक्ष्य चुनौतीपूर्ण प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो स्तर अझ उकास्नु रहेको छ।