स्मार्ट च्वाइस टेक्नोलोजिजले २०२२ को आईएसओ/आईईसी २७००१ अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रमाणपत्र प्राप्त गर्यो

स्मार्ट च्वाइस टेक्नोलोजिजले सूचना सुरक्षासम्बन्धी आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यसले कम्पनीको सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा सञ्चालनमा रहेको प्रमाणित गरेको छ। प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले यस सफलताले डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउन संस्थाको प्रतिबद्धता पुनः पुष्टि गरेको बताए। ७ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)ले सूचना सुरक्षा क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र हासिल गरेको छ। कम्पनीका अनुसार, उक्त प्रमाणपत्रले एससीटीमा लागू रहेको इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आईएसएमएस) अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार प्रभावकारी रूपमा प्रचलित भएको पुष्टि गरेको छ।
संगठनले आफ्ना ग्राहकहरू, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था र अन्य सरोकारवालाहरूको सूचना गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न उच्चस्तरीय सूचना सुरक्षा अभ्यास अपनाएको पनि प्रमाणित भएको छ। यसअघि एससीटीले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी उद्योगका सुरक्षा मापदण्ड अनुसार पीसीआई डीएसएस भर्सन ४.०.१ र पीसीआई थ्रीडीएस सर्टिफिकेसनहरू पनि प्राप्त गरिसकेको छ। आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्तिसँगै सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन र सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रतिको प्रतिबद्धता अझ स्पष्ट भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी प्रमाणपत्रहरूले एससीटीको सञ्चालन प्रणाली अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुरूप रहेको पुष्टि गर्नेछ र सदस्य बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यापारी तथा सेवाग्राहीहरूको विश्वास थप सुदृढ बनाउनेछ। यस अवसरमा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्नु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरे। उनले भने, “यसअघि प्राप्त पीसीआई डीएसएस ४.०.१ र पीसीआई थ्रीडीएस जस्ता सुरक्षा प्रमाणपत्रहरूका साथै यो सफलताले हाम्रो संस्थाको सूचना सुरक्षाप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।”
“डिजिटल भुक्तानी प्रणालीप्रति ग्राहक र सरोकारवालाको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो,” उनले थपे, “त्यसैले हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, भरपर्दो र नवप्रवर्तनयुक्त भुक्तानी समाधान उपलब्ध गराएर नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ सशक्त बनाउन निरन्तर प्रतिबद्ध छौं।” एससीटीले हाल देशभरका सदस्य बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) र अन्य साझेदारहरू मार्फत कार्ड स्विचिङ, कार्ड प्रोसेसिङ, क्यूआर कोड भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा विभिन्न अत्याधुनिक भुक्तानी सेवाहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ।






