Skip to main content

नेपाल आज पाकिस्तानसँग भिड्ने

पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ। खेल इस्लामावादको गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा दुवै टोलीले हालसम्म दुई-दुई खेल गुमाएका छन्, नेपाल २ अंकसहित छैटौं स्थानमा र अपराजित पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा छ।

नेपालले आजको खेलमा पाकिस्तानसँग आफ्नो तेस्रो प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपाल र पाकिस्तानबीचको खेल अपरान्ह ४:१५ बजे हुने व्यवस्था गरिएको थियो, तर शुक्रबार प्रार्थनाको कारण खेलको समय परिवर्तन गरिएको आयोजकले जनाएको छ। शुक्रबार नै उज्बेकिस्तान र श्रीलंका बीच पहिलो खेल र बंगलादेश र कजाकिस्तानबीच दोस्रो खेल आयोजना हुनेछ।

पाकिस्तानले यसअघि लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। नेपाल भने सुरुवाती दुई खेलमा पाँच सेटसम्म पुगेर पराजित भएको थियो। यो प्रतियोगितामा जितविहीन एक मात्र टिम नेपाल हो, जो २ अंकसहित छैटौं स्थानमा छ। नेपालले पहिलो खेलमा कजाकिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो भने श्रीलंका विरुद्ध पनि पाँचौं सेटमा पराजित भयो।

श्रीलंकासँग हारपछि नेपाल एफआईभीबी विश्व वरियतामा ८७ औं स्थानमा झरेको छ। लगातार दुई खेल जितेको पाकिस्तान ४५ औं स्थानमा उक्लिएको छ। एसियाका टिममध्ये पाकिस्तान नवौँ र नेपाल २१औं स्थानमा छन्। एफआईभीबी विश्व वरियतामा मान्यता प्राप्त यस प्रतियोगितामा नेपाल पहिलो खेलपछि समावेश भएको थियो। सेन्ट्रल एसियाका छ राष्ट्र सहभागी च्याम्पियनसिपमा सबै टोलीहरूले एकअर्कासँग खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।