Skip to main content

विभिन्न शैलीमा वेस्टकोट पुनः स्टाइल गर्ने तरिकाहरू

फेसनको दुनियाँमा बहुपरकारी वेस्टकोट अहिले युवादेखि महिलासम्मको रोजाइमा परेको छ। केही पहिरनहरू कहिल्यै आफ्नो आकर्षण गुमाउँदैनन्, र वेस्टकोट त्यस्ता बहुपरकारी पहिरनहरू मध्ये एक हो। पहिले यो केवल औपचारिक पोसाकको रूपमा सीमित मानिन्थ्यो, तर अहिले यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ। विशेष गरी सामाजिक सञ्जाल, फेसन शो र सेलिब्रिटी स्टाइलका कारण, एउटै वेस्टकोटलाई फरक–फरक पहिरनसँग मिलाएर अफिस, कलेज, पार्टीदेखि चाडपर्वसम्म लगाउने ट्रेन्ड छ। यदि तपाईं पनि कम खर्चमा आफ्नो वार्डरोबलाई नयाँ रूप दिन चाहनुहुन्छ भने, एउटै राम्रो फिट भएको वेस्टकोट पर्याप्त हुन सक्छ।

वेस्टकोट स्टाइल गर्दा ध्यान दिनुपर्ने कुराहरूमा आफ्नो शरीरको बनावटअनुसार फिट भएको वेस्टकोट छान्नुपर्छ। कालो, सेतो, बेन्ज, खैरो वा नेभी ब्लुजस्ता न्युट्रल रङका वेस्टकोट रोज्दा धेरै किसिमका पहिरनसँग सजिलै मिलाउन सकिन्छ। मौसमअनुसार कपडा छनोट गर्नु आवश्यक छ। गर्मीयाममा लिनेन वा कटन र जाडोमा ट्विड वा ऊनी कपडाको वेस्टकोट उपयुक्त हुन्छ। अत्यधिक गहना वा एक्सेसरिज प्रयोग नगरी सन्तुलित स्टाइल अपनाउँदा लुक अझ आकर्षक देखिन्छ।

विभिन्न लुकहरू प्राप्त गर्नका लागि वेस्टकोटलाई शर्ट र पाइन्टसँग पेयर गर्न सकिन्छ। सेतो वा हल्का निलो शर्टसँग कालो, खैरो वा बेन्ज रङका वेस्टकोट आकर्षक देखिन्छ। क्याजुअल र ट्रेन्डी लुकका लागि वेस्टकोटलाई ब्ल्याक शट्र्ससँग मिलाएर लगाउन सकिन्छ। परम्परागत पहिरनलाई आधुनिकता दिने चाहना भएमा साडीमा वेस्टकोट लगाउन सकिन्छ। मिडी वा म्याक्सी स्कर्टसँग वेस्टकोटलाई पेयर गर्दा स्टाइलिश र आरामदायी लुक प्राप्त गर्न सकिन्छ। चाडपर्वमा धोती वा पटियाला सुरुवालसँग वेस्टकोटको फ्युजन स्टाइल पनि मनमोहक हुन्छ।

वेस्टकोटलाई अझ स्टाइलिश बनाउन बेल्ट लगाएर कम्मरलाई हाइलाइट गर्न सकिन्छ। सिल्क स्कार्फ वा स्टेटमेन्ट नेकलेसले साधारण वेस्टकोटलाई प्रिमियम लुक दिन्छ। हल्का मेकअप र राम्रो हेरस्टाइलले सम्पूर्ण लुकलाई अझ आकर्षक बनाउँछ। आजभोलिको फेसनमा महँगो वार्डरोबभन्दा स्मार्ट स्टाइलिङलाई बढी महत्त्व दिइन्छ। यसले कम खर्चमा स्टाइलिश, आधुनिक र आत्मविश्वासी देखिन मद्दत गर्नेछ।