
केभीसी हाउण्ड्सले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा लगातार तेस्रो जीत हात पारेको छ। हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक ३५ अंक बनाएर म्याचका उत्कृष्ट खेलाडी घोषित भएका छन्। एचजेएनबीएलमा ८ टिम सहभागी छन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्ने छन्। ६ चैत, काठमाडौं।
हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले तेस्रो जीत हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर हॉलमा शुक्रबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबलाई १०६-७३ को फराकिलो स्कोरले पराजित गरेको छ। सुरुवाती तीन खेल हारिसकेको हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ। यसरी हाउण्ड्सले ६ खेलबाट ९ अंक जोडेको छ।
पहिलो क्वाटरमा २०-१३ र दोस्रो क्वाटरमा ३७-१६ को अग्रता बनाएर हाफ टाइमसम्म हाउण्ड्सले ५७-२९ को बढत लिएको थियो। तेस्रो क्वाटरमा ३६-१६ को विस्तार गर्दै हाउण्ड्सले चौथो क्वाटर अघि ९३-४५ को फराकिलो अग्रता बनाएको थियो। अन्तिम क्वाटरमा सोलोले २७-१३ को स्कोर बनायो भने पनि हाउण्ड्सलाई व्यापक जीतबाट रोक्न सकेन।
बिहीबार राति भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले सोलो बास्केटबल क्लबलाई ८७-७० ले पराजित गरेको थियो। गोल्डेनगेटका विकास गुरुङले १८ अंक बनाए। निकेश मगरलाई गोल्डेनगेटबाट प्लेअर अफ दि म्याच घोषित गरिएको छ। गोल्डेनगेटले यो आफ्नो चौथो जीत हो र ५ खेलबाट ९ अंक जोडेको छ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
डबल राउण्ड रोबिन आधारमा हुने लिगमा कुल ५६ खेल खेलिनेछन्। लिग चरणपछि शीर्ष चार टोली प्लेअफ प्रवेश गर्नेछन्। प्लेअफमा लिगमा पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरका विजेताबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुने खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने नेबाले जनाएका छन्।






