Skip to main content

अमेरिकी सेनाले दाबी गर्यो– होर्मुजमा इरानको धम्की दिने क्षमता कमजोर पारेका छौं

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमतामा ठुलो कमी ल्याएको दाबी गरेको छ। सेन्टकमले जनाएको छ कि पछिल्लो आक्रमणले होर्मुज क्षेत्रमा इरानी सैन्य शक्ति नष्ट भएको छ।

सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देशमार्फत यस हप्ताको आक्रमणबाट इरानका क्रुज मिसाइलहरू र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचनाहरू ध्वस्त भएको बताए।

उनले भने, उक्त आक्रमणले केवल हतियार भण्डारण स्थललाई मात्र नभएर जहाजहरूको आवागमन निगरानीमा प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू र मिसाइल रडार प्रणालीहरूलाई समेत विध्वंस गरेको छ।

‘जसका कारण होर्मुज क्षेत्र वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्‍याउने इरानको क्षमता कमजोर बनाइएको छ,’ कुपरले जारी सन्देशमा भनेका छन्, ‘हामी यस्ता लक्ष्यहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौं।’

भिडियो सन्देशमा कुपरले थप भनेका छन् कि अहिलेसम्म अमेरिकाले ८ हजारभन्दा बढी इरानी सैन्य ठिकानाहरूमा आक्रमण गरेको छ र तीमध्ये १३० वटा इरानी समुद्री जहाजहरू पनि छन्।