
जापानी एनिमेसन निर्देशक सुतोमु शिबायामाले ६ मार्च २०२६ मा ८४ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट निधन भएको छ। जापानी एनिमेसन (एनिमे)को दुनियाँमा केही दुर्लभ नामहरू छन्, जसले केवल चित्रहरूलाई चलायमान मात्र बनाएनन्, विश्वभरका करोडौं बालबालिकाको बाल्यकाललाई रंगीन र स्मरणीय बनाए। तीमध्येकै एक नाम हो- सुतोमु शिबायामा। फोक्सोको क्यान्सरसँगको लामो लडाइपछि उनले ६ मार्च २०२६ मा ८४ वर्षको उमेरमा संसारलाई बिदाइ दिए। उनको मृत्युको खबरले जापानसँगै विश्वभरका एनिमे प्रेमीहरूलाई स्तब्ध बनाएको छ। यससँगै एनिमेसन उद्योगले एउटा महान् वास्तुकार गुमाएको छ।
सुतोमु शिबायामाको जन्म सन् १९४१ मा जापानको राजधानी टोकियोमा भएको थियो। यो समय विश्व दोस्रो विश्वयुद्धको चपेटामा थियो र जापान पनि यसको एक मुख्य हिस्सेदार थियो। यसकारण, उनको बाल्यकाल सुखद् हुन सकेन। उनले युद्धको त्रासदी र त्यसपछिको कठिन कालखण्डसँगै हुर्किन पुगे। ती कठिन दिनहरूमा पनि उनको एउटा मिल्ने साथी थियो– चित्रकला। सानै उमेरदेखि उनमा चित्र कोर्ने भोक थियो। युवावस्थामा पुग्दा उनको यो सौखले व्यावसायिक रूप लिन थाल्यो। उनले जापानी कमिक्स अर्थात् माङ्गामा आफ्नो पाइला अघि बढाए।
सन् १९६० को दशक जापानी एनिमेसन उद्योगका लागि नयाँ युगको सुरुवात थियो। सन् १९६३ मा शिबायामा जापानको चर्चित टोई एनिमेसनमा जोडिए। त्यहाँ उनले एनिमेसनका प्राविधिक पक्षहरू सिके। डोरेमोनको कुरा गर्दा, धेरैको दिमागमा माङ्गा सर्जक फुजिको एफ. फुजियोको नाम आउँछ। उनले यो पात्रको सिर्जना गरेका थिए। तर, फुजियोले कागजमा कोरेको त्यो निलो रोबोट बिरालो र नोबिताको कथालाई टेलिभिजन र सिनेमाको पर्दामा जीवन्त बनाउने काम भने सुतोमु शिबायामाले गरेका हुन्। सन् १९७९ मा डोरेमोनको नयाँ टेलिभिजन श्रृंखला सुरु हुँदा शिबायामाले मुख्य निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
उनले २२ वटा डोरेमोनका फिचर फिल्महरूको निर्देशन गरे। डोरेमोन: नोबिताज लिटल स्टार वार्सदेखि डोरेमोन: नोबिता इन वान-न्यान स्पेसटाइम ओडिसीसम्मका चलचित्रहरू उनकै परिकल्पनाको उपज हुन्। यसरी उनले डोरेमोनलाई एउटा कमेडी सोमा मात्र सीमित राखेनन्। उनले विज्ञान, अन्तरिक्ष, समय यात्रा, पर्यावरण संरक्षण, मित्रता जस्ता विषयवस्तुहरू पनि समावेश गरे। यस कारण, डोरेमोन आज जापानको सांस्कृतिक दूतसरह बनेको छ।






