
गण्डकी प्रदेश सभाका तीन दलित महिला सांसदहरूले इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा कडा कारबाहीको माग गरेका छन्। सांसदहरूले यस किसिमका अपराधीहरूलाई हदैसम्मको सजाय र छिटो, निष्पक्ष न्यायको आवश्यक रहेको औँल्याएका छन्। उनीहरूले घटनालाई समाजमाथिको प्रहार र छोरीहरू सुरक्षित नरहेको स्पष्ट प्रमाण भएको बताएका छन्। ८ चैत, पोखरा।
गण्डकी प्रदेश सभाका ३ दलित महिला सांसदहरूले सुर्खेतमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा कडा कारबाहीको माग गरेका छन्। यो घटनामा केवल ३ दलित महिला सांसदले मात्र आवाज उठाए भने अन्य सांसदहरूले भने नागरिकका विभिन्न समस्याका विषयमा बोल्न प्राथमिकता दिएका थिए। सीमित समयमा बोलेका सांसदहरूले दोषीमाथि कडा कारबाहीको माग राख्दै समाजमा छोरीहरू मात्र नभएर आफूहरू पनि असुरक्षित भएको बताए।
आइतबारबाट सुरु भएको नबौं अधिवेशनको पहिलो बैठकमा सांसद दमयन्ती रुचालले गत फागुन २३ गते मृत्यु भएकी १६ वर्षीया इनिशाको हत्याको अनुसन्धान अझै सकिएको नभएको विषयमा संसदको ध्यानाकर्षण गराइन्। उनले निर्मला विकदेखि इनिशा विकसम्मको बलात्कारपछि हत्या हुने घटनामा जोड दिइन् र बलात्कारपछि हत्या गर्ने अपराधीमाथि कडा सजायको माग गरिन्। अर्की सांसद दिलमाया पौवीले इनिशाको बलात्कारपछि हत्या भएको भन्दै संसदमा यस विषयमा ध्यानाकर्षण गराइन्।
पौवीले संसदमा भनिन्, ‘पितृसत्तात्मक सोचका कारण अझै पनि हाम्रो छोरीहरू मात्र नभएर हामी पनि सुरक्षित छैनौं। किन अपराधीहरूलाई कानुनको डर छैन?’ सांसद नन्दकला नेपाली दमैले अन्तर्राष्ट्रिय महिला दिवसकै बेला इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै छोरी-छोरीमाथि गम्भीर चुनौती प्रस्तुत भएको उल्लेख गरिन्। सांसदहरूले यसअघिका अधिवेशनहरूमा पनि जातीय विभेद, महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै कडा कानुनको माग गर्दै आएका छन्।






