
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति पत्ता लगाएका छन्। लगभग २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने होइन, जमिनमा अत्यन्त तीव्र गतिमा दौडनसक्ने किसिमको रहेको अनुसन्धानले देखाएको छ। यसको शारीरिक संरचना आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग निकै समान रहेको र यो आफ्ना लामो खुट्टाको सहायताले सुख्खा मैदानहरूमा साना जनावरहरूको शिकार गर्ने गर्दथ्यो।
वैज्ञानिकहरूले यस नयाँ प्रजातिको नाम ‘गालाहाडोसुचस जोन्सी’ राखेका छन्। यो नाम आर्थरियन दन्त्यकथाका पात्र ‘गालाहाड’ र यस अध्ययनका मुख्य लेखक इवान बोडेनहामका भौतिक विज्ञान शिक्षक ‘डेभिड राइस जोन्स’ को सम्मानमा राखिएको बताइएको छ। लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियम र यूसीएलका विद्यावारिधि विद्यार्थी इवानले आफ्ना गुरुले विज्ञानप्रति जगाएको चासो र प्रेरणाका कारण यो खोज सम्भव भएको बताएका छन्।
दक्षिण वेल्स र दक्षिण-पश्चिम इङ्ल्यान्डका गुफाहरूमा फेला परेका जीवाश्महरूको सूक्ष्म अध्ययन गर्दा यो जीव यसअघि पहिचान गरिएका ‘टेरेस्ट्रिसुचस’ भन्दा १३ वटा फरक पक्षमा भिन्न रहेको पाइएको छ। यस खोजले ‘ट्रायसिक–जुरासिक’ महाविनाशभन्दा ठीक अगाडिको पारिस्थितिक प्रणाली बुझ्न ठूलो सहयोग पुर्याउने वैज्ञानिकहरूको विश्वास छ। ज्वालामुखी विष्फोट र जलवायु परिवर्तनका कारण धेरै प्रजाति लोप हुनु पूर्व यस्ता जीवहरू कसरी अनुकूलित भएका थिए भन्ने तथ्यले भविष्यमा पृथ्वीमा आउन सक्ने वातावरणीय उतार-चढाव बुझ्न मद्दत गर्ने देखिन्छ।






