Skip to main content

जेन जि आन्दोलनः कर्मचारी प्रशासन, अख्तियार र अदालत सम्बन्धी सुशासन मार्गचित्रमा के छ?

जेन जि आन्दोलनपछि सुशासनको मार्गचित्र तयार गर्न गठित समितिले भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायहरू र न्यायालयमा राजनीतिक हस्तक्षेप भइरहेको भन्दै ती निकायहरूमा योग्यता र प्रतिस्पर्धा आधारित नियुक्ति प्रणाली अघि बढाउन सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको समितिले यसै साता नेपाल सरकारका मुख्य सचिवलाई बुझाएको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन संरचनागत, नीतिगत तथा प्रविधिगत सुझावहरू समेटिएका छन्। समितिले तयार पारेको सारांशमा २०० भन्दा धेरै बुँदाहरू छन्, जसमा न्यायाधीश र न्यायिक अधिकारीहरूको सम्पत्ति विवरण पारदर्शी अनुगमन गर्ने र अदालत प्रशासनमा उत्तरदायित्व बढाउने विषयमा चर्चा गरिएको छ। समितिका सदस्य सचिवले विविध पक्षसँग विस्तृत छलफलपछि सो प्रतिवेदन तयार भएको र नयाँ सरकारले यसको कार्यान्वयन गर्ने अपेक्षा राखिएको बताए।

भदौमा जेन जि युवाहरूले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै गरेको आन्दोलनले केपी ओली नेतृत्वको सरकारलाई हटाएको थियो। ७७ जनाको ज्यान गएको आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरी अघिल्लो महिना सम्पन्न संसद्को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लगभग दुई तिहाइ सांसदसहित राजनीतिक शक्तिका रूपमा उदाएको छ। निर्वाचनअघि सुशीला कार्की नेतृत्वको सरकारले सुशासन मार्गचित्र सम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गर्ने समितिलाई गठन गरेको थियो। समितिले तीनै तहका सरकार, विभिन्न मन्त्रालय, संवैधानिक निकाय र न्यायालयमा आवश्यक सुधारहरू समावेश गरी प्रतिवेदन बुझाएको हो। यसले कर्मचारी प्रशासन, संवैधानिक निकाय र सुरक्षा बलहरूमा जनविश्वास अभिवृद्धि गर्न आवश्यक कदमहरूबारे पनि समेटेको छ।

जेन जि आन्दोलनका क्रममा युवाहरूले भ्रष्टाचार विरुद्धका नाराहरू लगाएका साथै विभिन्न निकायमा भएको राजनीतिक हस्तक्षेपप्रति असन्तुष्टि जनाएका थिए। सुशासनको मार्गचित्रमा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कडा कारबाही, सरल र झन्झटमुक्त सार्वजनिक सेवा प्रवाह, डिजिटल प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार न्यूनीकरण तथा अख्तियार, महालेखा परीक्षक र राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायहरूलाई स्वतन्त्र र सक्षम बनाउने नागरिक स्तरमा रहेको अपेक्षा दर्शाइएको छ र त्यसतर्फ कदम चालिनुपर्ने उल्लेख गरिएको छ।