Skip to main content

एचजेएनबीएलमा केभीसी हाउण्ड्सको लगातार चौथो जीत

केभीसी हाउण्ड्सले एचजेएनबीएल २०२६ मा प्लेबक्स एरेनालाई ८३-७६ को अंकले पराजित गर्दै आफ्नो चौथो जीत हात पारेको छ। सौरभ श्रेष्ठले २२ अंक बनाएर प्लेयर अफ दि म्याच घोषित भएका छन्। हाउण्ड्सले ७ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले लगातार चौथो जीत हासिल गरेको छ। सुरुका तीन खेलमा पराजित भए तापनि हाउण्ड्सले उत्कृष्ट फर्किएर प्लेबक्स एरेनालाई ८३-७६ को अन्तरले हराउँदै आफ्नो चौथो जीत दर्ता गरेको हो। रोमाञ्चक खेलमा सुरुवाती दुई क्वाटरमा हाउण्ड्सले अग्रता बनाएको थियो भने अन्तिम दुई क्वाटर प्लेबक्सले आफ्नो पक्षमा पारेको थियो।

पहिलो क्वाटर ३१-१९ र दोस्रो क्वाटर १८-१४ को स्कोरले हाउण्ड्सले हाफटाइमसम्म ४९-३३ को ठूलो अग्रता बनाएको थियो। त्यसपछि तेस्रो क्वाटरमा प्लेबक्सले २२-१८ र चौथो क्वाटरमा २१-१६ को स्कोरले आफ्नो पक्षमा ल्याए पनि हाउण्ड्सलाई जीतबाट रोकिन सकेनन्। हाउण्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २२ अंक बनाएर प्लेयर अफ दि म्याच घोषणा भए।

शनिबार राति भएको खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ८७-७२ को अन्तरले पराजित गरेको थियो। गोल्डेनगेटले ६ खेलबाट ५ जित हात पार्दै ११ अंक जोडेर चौथो स्थानमा रहेको छ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजना अन्तरगत दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोली प्रतिस्पर्धा गरिरहेका छन्। लिग समाप्ति पश्चात् शीर्ष चार टीमले प्लेअफ प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख प्राप्त गर्ने छन्।