
नेपाल कबड्डी लिग सिजन २ का टिम मालिकहरू सार्वजनिक गरिएको छ। नेसनल इन्भेस्टमेन्ट होल्डिङकी भवानी राणाले विराटनगर बाहुबली टिमको स्वामित्व लिएकी छिन्। एस्ट्रोनिक्स म्यानेजमेन्टसँग गरिएको १० वर्षे सम्झौतामा नेपाल कबड्डीको व्यावसायिक विकास गर्ने लक्ष्य राखिएको छ। १५ चैत, काठमाडौं।
आगामी जेठ २२ गतेदेखि सुरु हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का ६ टिमका मालिकहरू सार्वजनिक गरिएको हो। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममा एनकेएल सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाइज टिमका मालिकहरू घोषणा गरिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले कबड्डी लिगमा प्रवेश गरेकी छिन्। उनका नेसनल इन्भेस्टमेन्ट होल्डिङले विराटनगर टिमको स्वामित्व लिएको छ। यस टिमको नाम परिवर्तन गरी विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनाइएको छ।
पहिलो संस्करणको विजेता जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडकै रहेको छ। उपविजेता काठमाडौं माभरिक्स टिमको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.ले लिएको छ। त्यस्तै, फेवा कन्स्ट्रक्सनले पोखरा लेकर्सको स्वामित्व लिएको छ भने मोराई कर्पोरेसनले बुटवल बुल्सको स्वामित्व लिएको छ। यसैसँग हिमालयन राइडर्सबाट नाम परिवर्तन गरी बुटवल टिम बुटवल बुल्स बनेको छ। धनगढी वाइल्डक्याट्स प्रा.लि.ले सुदूरपश्चिम प्रदेशको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्सको स्वामित्व लिएको छ।
देशमै लोकप्रिय बन्दै गएको एनकेएलमा व्यावसायिक र व्यापारिक सम्पृक्तिका कारण खुसी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘पहिलो संस्करण भव्य रूपमा आयोजना गरेका थियौं। दोस्रो संस्करण अझ उत्कृष्ट बनाउनेछौं। कर्पोरेट घरानाहरूको सहभागिताले लिगलाई उत्कृष्टता दिनेछ। हामीले नेपाली कबड्डीलाई विश्वमै उत्कृष्ट बनाउनेछौं।’ कार्यक्रममा नेपाली राष्ट्रिय रूपमा श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झल लगायतको उपस्थिति थियो। महासचिव झलले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग नेपाल कबड्डी लिगका लागि १० वर्षे सम्झौता गरिएको र यसले नेपालको कबड्डी खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाली कबड्डीलाई व्यवसायिक अमलमा ल्याउने उद्देश्यसहित एनकेएल आयोजना हुँदै आएको छ। जेठ २२ देखि सुरु हुने एनकेएल सिजन २ को प्लेयर्स ड्राफ्टका लागि स्वदेशी खेलाडीहरूको छनोट सकिएको छ। साथै १५ मुलुकका १०० भन्दा बढी विदेशी खेलाडीहरूले पनि नाम दर्ता गराएका छन्, आयोजकले जनाएको छ।






