Skip to main content

इजरायलको तटीय क्षेत्रमा २६०० वर्ष पुरानो जहाजका भग्नावशेष फेला

भूमध्यसागरीय सागरमा, इजरायलको डोर लगुनमा पुरातत्त्वविद्हरूले २६०० वर्ष पुरानो प्राचीन जहाजका भग्नावशेष फेला पारेका छन्। हाइफा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार उक्त जहाजमा ‘ब्लुम्स’ भनिने प्रशोधन नगरिएका नौवटा फलामका टुक्रा भेटिएका छन्, जुन समुद्रमार्फत ओसारपसार गरिएको संसारकै सबैभन्दा पुरानो काँचो फलामको कार्गो हो।

यो खोजले प्राचीन कालमा फलाम उत्पादन र व्यापार कसरी हुन्थ्यो भन्ने नयाँ तथ्यहरु उजागर गरेको छ। फेला परेका फलामका टुक्राहरू भट्टीबाट निकालिएपछि कुनै प्रकारको प्रहार वा आकार नदिई सिधै ओसारपसार गरिएको देखिन्छ। वैज्ञानिकहरूले ती फलामका टुक्राहरूमा टाँसिएका कोइलाका अंशलाई रेडियोकार्बन डेटिङ प्रविधिबाट परीक्षण गर्दा यिनीहरू २६०० वर्ष पुरानो भएको पुष्टि गरेका छन्।

‘हेरिटेज साइन्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानले प्राचीन भूमध्यसागरीय क्षेत्रमा फलाम उत्पादन र त्यसलाई औजारमा परिणत गर्ने स्थलहरू छुट्टाछुट्टै हुन्थे भन्ने अनुमानलाई प्रमाणित गरेको छ।